close

कनकाईमा पूर्वाधार निर्माणले भित्रियो विकास 

कनकाईमा पूर्वाधार निर्माणले भित्रियो विकास 

Trulli
ADVERTISEMENT

झापा–राजनीतिक नेतृत्वले दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्ने हो भने कुनै पनि गाउँठाउँको विकासले गति लिन धेरै समय कुर्नुपर्दैन । जनप्रतिनिधिले विकासका अवसरबाट वञ्चित नागरिकलाई दीर्घकालीन नीति र योजना बनाएर विकासको प्रतिफल उपभोग गर्ने अवस्थामा पुर्‍याउन प्रयत्न गरिरहेका छन् । झापाको कनकाई नगरपालिका पूर्वाधार निर्माणलाई गति दिएकै कारण विकास भित्र्याउन सफल हुँदै गइरहेको छ । 

 

कनकाई नगरपालिकाले नगरभित्रका सडक निर्माणलाई प्राथमिकता दिँदै आएको छ । अहिले नगरपालिकामा सडक ग्राभेल र कालोपत्रे भइरहेका छन् । नगरपालिकाले सडक मात्र नभई अन्य क्षेत्रको भौतिक निर्माणमा पनि जोड दिएको छ । जनप्रतिनिधिले स्वास्थ्य, खानेपानीलगायत क्षेत्रको पूर्वाधार निर्माण गरेर नागरिकको प्रशंसा बटुल्ने काम गरेका छन् । दीर्घकालीन योजनासहित सडक स्तरोन्नति, धुलोमुक्त सडक बनाउने काम धमाधम भइरहेको नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल बताउँछन् ।

 

जनप्रतिनिधिबाट हुने हरेक कामको मूल्यांकन गर्ने निकाय भनेकै नागरिक हुन् । जनपेक्षाअनुसार काम गर्न सुझाव दिने गरेकाले पनि नगरपालिकाले नागरिकको आकांक्षा पूरा गर्ने गरी भौतिक पूर्वाधार निर्माण गरिरहेको वडा नम्बर २ का स्थानीय गणेश लिम्बूको भनाइ छ ।

 

प्रत्येक आर्थिक वर्षमा बजेटको ३० प्रतिशत पूर्वाधार निर्माणमा छुट्याउने गरिएको छ । त्यही रकमबाट वडा कार्यालयको भवन बनाउने र स्वास्थ्य केन्द्र निर्माण गर्ने गरिएको छ । सबै वडामा बिजुली बत्तीको पहुँच पुर्‍याउने काम सम्पन्न भएको छ । नगरपालिकाले स्वास्थ्य संस्थाका भवन निर्माण तथा स्तरोन्नति गरेपछि अहिले नागरिकले सहज स्वास्थ्य सेवा लिइरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले जानकारी दिए ।

 

खानेपानी, स्वास्थ्य, पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । जनप्रतिनिधि निर्वाचित भएर आउनुअघिको अवस्था र अहिलेको अवस्थामा आकाश–जमिनको फरक देखिन थालेको छ । नगरबासीको अपेक्षा पूरा हुँदै गएको छ भने दीर्घकालीन योजना निर्माण गरिएकाले केही आयोजनाको प्रगति छिट्टै देखिने संकेत मिलेको वडा नम्बर ७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्गवाको दाबी छ ।

 

नगरबाट निर्मित सामुदायिक भवनबाट स्थानीयले लाभ लिइरहेका छन् । भौतिक पूर्वाधार समितिबाट भए÷गरेका कामले नागरिकमा जनप्रतिनिधिप्रति विश्वास गर्ने वातावरण बनेको नगरपालिकाको भौतिक पूर्वाधार समिति संयोजक सुनिता खरेल सिग्देलले बताइन् ।

 

पाँच वटा खानेपानी आयोजना सञ्चालन गरेर सबै नागरिकको स्वच्छ खानेपानीमा पहुँच पुगेको छ । एक शौचालय र खानेपानीको धारा वा ट्युबवेलको पानी पुर्‍याउने जनप्रतिनिधिको लक्ष्य साकार भएको नगरपालिकाका योजना अधिकृत विवेक भण्डारीको धारणा छ ।

 

पानीका स्रोत पहिचान र संरक्षण गरिएको छ । सीमित स्रोत–साधनका बीच जनप्रतिनिधिले गरेको कामप्रति सन्तुष्टि मिलेको स्थानीय सेवाग्राही खड्गप्रसाद विमली सुनाउँछन् ।

 

पाँच वर्षमा भौतिक पूर्वाधार निर्माण र सामाजिक क्षेत्रमा धेरै योजना अघि बढेका छन् । अधिकांश योजना पूरा भएका छन् भने केही सम्पन्न हुने चरणमा छन् । दीर्घकालीन सोचले जन्माएको विकासको अवधाराणालाई नयाँ आउने जनप्रतिनिधिले अघि बढाउने आधार बनेको छ । नगरपालिकाले समृद्धिको अभियानमा चालेका पाइला दिगो हुने निश्चित छ ।