close

नगर गौरवका योजना अगाडि बढाउँदै कनकाई

नगर गौरवका योजना अगाडि बढाउँदै कनकाई

Trulli
ADVERTISEMENT

झापा– संघ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकार क्षेत्रभित्रका केही योजना जसले विकास निर्माणमा विशेष महत्त्व राख्छन् त्यसलाई ‘गौरवको आयोजना’ का रूपमा अघि बढाइरहेका छन् । स्थानीय तहले पनि पालिकाभित्र दीर्घकालीन योजना बनाएर गौरवका आयोजना सञ्चालन गरिरहेका छन् । झापाको कनकाई नगरपालिकाले विश्व बैंकबाट प्राप्त सहयोग र बिर्तामोड एवं अर्जुनधारा नगरपालिकासँग सहकार्य गरेर गौरवका योजना अगाडि बढाएको छ ।


 
दीर्घकालीन रूपमा प्रभाव पार्ने विकास योजनालाई नै गौरवको आयोजना भनिन्छ । कनकाई नगरपालिकाका लागि गौरव गर्ने योजनाका रूपमा वायोग्यास प्लान्ट निर्माण बन्न पुगेको छ । वातावरणमैत्री नगरपालिका निर्माण गर्ने अठोटका साथ अघि बढेका जनप्रतिनिधिले कनकाईबासीका लागि निर्माण गरेको वायोग्यास प्लान्ट छिट्टै सञ्चालनमा आउँदै छ । 

 

०७७ मा सुरु गरिएको यो योजनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पनि सहयोग रहेको छ । प्लान्ट निर्माणमा आउँदा ९ सय घरपरिवारलाई पाइपलाइनबाटै ग्यास वितरण गर्न सकिनेछ । परियोजनाका लागि ऊर्जा मन्त्रालयमार्फत विश्व बैंकले २ करोड १८ लाख रुपैयाँ सहयोग गरेको थियो  । बिर्तामोड र अर्जुनधारा नगरपालिकाले पनि यो योजनामा ५०–५० लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै तीन वटा नगरका ६ सय जनाले सेयर हालेका छन् । यो योजना नेपालकै नमुना परियोजनाका रूपमा अघि बढेको कनकाईका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल बताउँछन् ।

 

नगरपालिकाको वडा नम्बर २ स्थित सन्काहा खोला किनारमा निर्मित प्लान्टबाट दैनिक १६ सय किलो वायोग्यास उत्पादन हुनेछ । १६ सय किलो कम्पोस्ट मल पनि बनाउन सकिनेछ । अहिले नगरपालिकामा दैनिक ३५ देखि ४० टनसम्म फोहोर खपत हुने गरेको छ । सञ्चालनमा आएसँगै तीन वटै नगरको फोहोर व्यवस्थापन मात्र नभई नगर सफा हुने निश्चित छ । योबाहेक नगरपालिकाको सुरुंगा बजारमा व्यावसायिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यो पनि नगरको गौरव योजना हुने संकेत देखिएको नगरप्रमुख पोखरेलको भनाइ छ ।

 

नगरपालिकाले मजदुरलाई नै मालिक बनाउने नीति अवलम्बन गरेको पाइएको छ । उत्पादन र रोजगारी सँगसँगै लगेर मजदुरलाई मालिक बनाइने प्रतिबद्धता जनप्रतिनिधिले जनाएका छन् । कनकाईमा १२ सय मजदुर नदी किनारमा काम गर्छन् । ती मजदुरलाई नदीजन्य पदार्थमा आधारित उद्योग निर्माण गर्ने योजना अघि बढेको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

 

जनताका आवश्यकतासँग जोडिने र दीर्घकालसम्म प्रभाव पार्न सक्ने योजना स्थानीयदेखि संघीय सरकारले सम्पन्न गर्ने हो भने नागरिकले चाहेको विकासले मूर्त रुप लिन सक्छ । देशको अर्थतन्त्रलाई गतिशील एवं थप विस्तार गरेर विकासशील राष्ट्रको स्तरमा पु¥याउने राष्ट्रिय आकांक्षालाई नगरपालिकाका यी योजनाले सहयोग पुर्‍याउने छन् ।