close

युवालाई खेल माध्यमबाट गाउँको विकासमा लगाउँदै कानेपोखरी 

युवालाई खेल माध्यमबाट गाउँको विकासमा लगाउँदै कानेपोखरी 

Trulli
ADVERTISEMENT

मोरङ– सरकारले एक स्थानीय तह, एक खेलकुद मैदानको अवधारणा लागू गरेको छ । सबै स्थानीय तहमा यो अवधारणा कार्यान्वयनमा जान सकेको छैन । कतै बजेट अभाव त कतै पर्याप्त जग्गा नहुँदाको परिणाम जनप्रतिनिधिमा अन्योल देखिन्छ । तर, युवा पुस्तालाई खेलकुदमा आकर्षित गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न मोरङको कानेपोखरी गाउँपालिकाले खेल क्षेत्रमा लगानी बढाउँदै लगेको छ । 

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा हासिल गरिने उपलब्धिले खेलाडीको मात्र नभइ उसले प्रतिनिधित्व गर्ने भूगोल र देशकै नाम उँचो बनाइ रहेको हुन्छ । युवा पुस्तालाई खेलकुदमा आकर्षित गराउन सक्दा उनीहरूलाई अनुशासित र जिम्मेवार बनाउन पनि सकिन्छ । खेलकुद र यसप्रति युवा आकर्षण बढाउन कानेपोखरी गाउँपालिकाले पाँच वर्षमा युवा र खेलकुद क्षेत्रमा लगानी गरिरहेको छ । 

 

गाउँपालिकाले ‘गाउँबासीको एकता, समृद्ध गाउँका लागि खेलकुदको आवश्यकता’ नारा नै तय गरेर काम गरिरहेको छ । गाउँपालिकाले खेलकुदको समग्र विकासका लागि गाउँस्तरीय खेलकुद विकास परिषद् गठन, खुला व्यायामशाला र कभर्ड हल निर्माण, रंगशालाको स्तरोन्नति र विस्तार, वार्षिक अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । 


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्न सक्ने खेलाडी जन्माउन गाउँपालिकाको मिहिनेत सराहनीय देखिन्छ । पूर्वराष्ट्रिय फुटबल खेलाडी डेनिम राई पालिकाले खेल क्षेत्रलाई महत्त्व दिएकामा खुसी छन् । फुटबलमा ख्याति कमाउन सफल राई आफूजस्तै अन्य उत्ृकष्ट खेलाडी उत्पादन गर्न जनप्रतिनिधिले गरेको लगानीप्रति सन्तुष्ट हुने अवस्था रहेको पूर्वराष्ट्रिय खेलाडी राई बताउँछन् ।

 

अहिले गाउँपालिकाले विद्यालय तहमै तेक्वान्दो, भलिबल, फुटवल, कराँते र क्रिकेट खेल सुरु गरेको छ । खेल सामग्री वितरण तथा प्रदेशगत खेल प्रतियोगिता आयोजना हुँदा खेलकुदप्रति युवा आकर्षित हुँदै गएका छन् । गाउँपालिकाले खेलकुद क्षेत्रकै लागि भनेर खेल प्रशिक्षकसमेत नियुक्त गरेको वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङले जानकारी दिए ।


गाउँपालिकाको योजनाले खेलकुद क्षेत्रमा कति धेरै परिवर्तन आएको छ भन्ने कुरालाई पुष्टि गर्ने आधार यो तेक्वान्दो पनि हो । आत्मरक्षाका लागि पनि फाइदा हुने भएकाले अहिले युवा पुस्ताले तेक्वान्दोको प्रशिक्षण लिइरहेको आइटीएफ तेक्वान्दोका मुख्य प्रशिक्षक युवराज भुजेलको भनाइ छ ।

 

वडास्तरमै खेल गतिविधि सञ्चालन गरेर युवा वर्गलाई कुलतमा फस्नबाट जोगाउन गाउँपालिका सफल भएको देखिन्छ । अनुशासित बनाउन पनि खेलकुदले टेवा पुर्‍याएको वडा नम्बर १ का वडा सदस्य काजीमानसिंह भण्डारीको बुझाइ छ ।

 

गाउँपालिकाले युवालाई खेलकुदमा मात्र नभई स्वरोजगार बनाउन विभिन्न तालिम र प्रशिक्षणसमेत दिने गरेको छ । टायल तथा मार्बल फिटिङ, मोटरसाइकल मर्मत, वेल्डिङ एवं विद्युतीय उपकरण मर्मत र कम्प्युटर तालिमसमेत दिएको छ । अहिले खेलकुदप्रति आकर्षित युवा खेल प्रशिक्षक र स्वरोजगार बन्ने अवसर पाएकामा गाउँपालिकाको काम गराइ सन्तुष्ट रहेको वडा नम्बर २ का स्थानीय कुवेरप्रसाद दाहालले सुनाए ।

 

पालिक तहमा पुगेका खेलकुद गतिविधि र पूर्वाधार निर्माणमा भइरहेका लगानीलाई दिगो बनाउन प्रदेश तथा संघीय सरकारले पनि हातेमालो गर्नु जरुरी छ । स्थानीय सरकारले सञ्चालन गर्ने खेलकुद प्रतियोगिताबाट नयाँ खेलाडी जन्मिने अवस्था सिर्जना हुनुपर्छ । विद्यार्थी र युवालाई खेलकुदप्रति आकर्षित गराउन र स्वरोजगार बनाउन कानेपोखरी गाउँपालिकाले गरेको प्रयत्न प्रशंसनीय छ ।