close

ऊर्जामन्त्रीले गरिन् न्यू बुटवल २२० केभी सबस्टेसन उद्घाटन

ऊर्जामन्त्रीले गरिन् न्यू बुटवल २२० केभी सबस्टेसन उद्घाटन

Trulli
ADVERTISEMENT

काठमाडौं– नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ मा निर्माण गरिएको २२०÷१३२ केभी न्यू बुटवल सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गरिन् ।

 

 मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसन निर्माण गरिएको हो । 

 

उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत् छिमेकी मुलुकमा बिक्री गर्न भइरहेको पहल सकारात्मक रूपमा अगाडि बढेको बताइन् । 

 

रसिया र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकाले यसको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युत्को खपत बढाउन आग्रह गरिन् । ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत् व्यापारका लागि थप पूर्वाधार तयार भएको जानकारी दिए । 

 

नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिँदै सबस्टेसन निर्माणबाट विद्युत् प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताइन् । ऊर्जालाई प्रतिस्पर्धी बनाउन सकिए नेपाल दक्षिण एसियाली क्षेत्रकै विद्युत् हब बन्न सक्ने उनको भनाइ छ । 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिका लागि अर्को ३३÷११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए । नेपालको विद्युत् महसुल सस्तो रहेको र मागेजति विद्युत् उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योग खोल्न उनले आग्रह गरे । 

 

एसियाली विकास बैक नेपाल कार्यालयका पोर्टफोलियो विभाग प्रमुख रुडिभान डेयलले सबस्टेसन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको टिप्पणी गरे । उनले स्वच्छ, विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि सबस्टेसनको ठूलो योगदान रहने बताए । 

 

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी किरडोर २२० केभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । 

 

नेपाल सरकारको लगानी, नर्वेको अनुदान र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि ८ नेभेम्बर २०१७ मा करिब १ अर्ब ८ करोड रुपैयामा टाटा प्रोजेक्ट लिमिटेड भारतसँग ठेक्का सम्झौता भएको थियो । 
निर्माण कार्य १ अर्ब ५ करोड रुपैयाँमा २३ नेभेम्बर २०२१मा सम्पन्न भएको थियो । 

 

नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन न्यू बुटवल सबस्टेसनबाट सुरु हुनेछ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ ।

 

करिब २० बिघा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत् हब बन्नेछ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्नेछ ।

 

एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन निर्माण गर्नेछ । बर्दघाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ ।