close

ऊर्जामन्त्रीले गरिन् मोतीपुर १३२ केभी सबस्टेसन उद्घाटन 

ऊर्जामन्त्रीले गरिन् मोतीपुर १३२ केभी सबस्टेसन उद्घाटन 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ मा निर्माण गरेको १३२÷३३÷११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको उद्घाटन गरेकी हुन् । 

 

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर रहेका छन् ।

 

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ । 

 

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत् प्रयोग गर्न आग्रह गरिन् । 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सबस्टेसनले मोतीपुर क्षेत्रको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउने बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गरे ।

 

उनले सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको र प्राविधिक चुहावटसमेत कम भएको बताए । 

 

मोतीपुर सबस्टेसनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रूपन्देहीको सालझन्डी क्षेत्रमा विद्युत् आपूर्तिका लागि क्रमशः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको छ ।

 

यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत आपूर्ति हुँदा न्यून भोल्टेज,ट्रिप भएर झ्याप्प–झ्याप्प बत्ती जानेलगायत समस्या थिए । सालझन्डीमा ३३/११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ । 

 

बुर्तिवाङ–पाउदीअमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन र मोतीपुर–सन्धिखर्क खण्ड प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा छ । 

 

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो ।आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिवाङमा सबस्टेसन निर्माणाधीन छन् । सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब ३ अर्ब रुपैयाँ छ ।