close

महालक्ष्मीका घरआँगनमै खानेपानीका धारा 

महालक्ष्मीका घरआँगनमै खानेपानीका धारा 

Trulli
ADVERTISEMENT

धनकुटा–धनुकटाको लक्ष्मी र महामाया खोलाबाट नामकरण गरिएको महालक्ष्मी नगरपालिकामा जनप्रतिनिधि आउनुअघि खानेपानी अभाव थियो । पहाडी भेग हुँदा अरुण नदी नै पानीको स्रोत भए पनि घरमा छ्यालब्याल पानी उपयोग गर्न नागरिक वञ्चित थिए ।
यही समस्यालाई समाधान गर्ने प्रतिबद्धताका साथ चुनाव जितेका जनप्रतिनिधिले अहिले नगरको खानेपानी र सरसफाइ क्षेत्रमा ठूलो परिवर्तन ल्याएका छन् । 

 

महालक्ष्मी नगरपालिकामा जनप्रतिनिधि आउनुअघि खानेपानी अभाव थियो । पानीका धारा न्यून र जीर्ण थिए । पानी अभावका कारण सिँचाइको कमी थियो । आर्थिक अवस्था मात्र नभई पानीको समेत सहज उपभोग गर्ने अधिकारबाट धेरै नागरिक वञ्चित थिए । नगरको वडा नम्बर १ मा खानेपानीको व्यवस्थापन नै थिएन ।

 

तर, अहिले नगरपालिकामा खानेपानीका आयोजना बन्ने क्रम जारी छ । अरुण नदीबाट पानी लिफ्टिङ गर्ने योजना अघि बढेको छ । लेगुुवा खोला पानी लिफ्टिङ परियोजनाबाट १२ सयलाई खानेपानी उपलब्ध गराइनेछ । यो आयोजनको पहिलो चरणको काम गत आर्थिक वर्षमै सकिएको हो । अहिले अर्काे टेन्डर खोलिएको नगरपालिकाका इन्जिनियर सन्दीपकुमार झा बताउँछन् ।

 

नगरपालिकाभित्र नयाँ तथा पुरानासहित अन्य खानेपानी आयोजना पनि सञ्चालित छन् । ती आयोजनाको मर्मतसम्भार गरेर विभिन्न ठाउँमा खानेपानी व्यवस्था गरिएको वडा नम्बर ७ का वडाध्यक्ष रुद्रबहादुर तुम्बाले जानकारी दिए । 

 

खानेपानीको मात्र नभई नगरले सरसफाइको क्षेत्रमा पनि ध्यान दिएको छ । नगरपालिकाभित्र मुख्यतया तीन वटा बजार छन् । लेगुवा, सिदुवा र जितपुर बजार नै नगरपालिकाको प्रमुख बजार हुन् ।

 

यी बजारको फोहोरलाई संकलन गरेर डम्पिङ साइटसम्म पु¥याउने काम भएको छ । बजारमा सार्वजनिक शौचालय निर्माण हुने क्रम जारी छ । विद्यार्थीलाई खाजाका निम्ति टिफिन बक्स वितरणले पनि सरसफाइमा सहयोग पु¥याएको वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर खड्काको दाबी छ ।

 

प्राकृतिक हिसाबले महालक्ष्मी नगरपालिकाभित्र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको सम्भावना न्यून छ । विकासको क्रममा विनासको काम नहोस् भन्न पूर्वाधार शाखाले ध्यान पु-याएर काम गरिरहेको छ । परिणामतः विकासले निम्त्याउने विपद् नियन्त्रण गर्न नगर सक्षम बन्न पुगेको नगरपालिकाका इन्जिनियर झाको बुझाइ छ ।

 

विकासका लागि खानेपानी, शौचालय तथा सरसफाइ महत्वपूर्ण हुन्छ । सरकारले १५औँ राष्ट्रिय योजनामा सबैलाई आधारभूत स्तरको खानेपानी तथा सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्दै गुणस्तरीय सेवा अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । खानेपानीका स्रोत संरक्षण, स्वच्छ वातावरण निर्माण गर्ने रणनीतिअनुसार महालक्ष्मीले योजना बनाउँदा सरकारी लक्ष्य हासिल हुने देखिन्छ ।