close

फलेबास नगरपालिकाको प्रशासन अब स्थायी मुकामबाटै 

फलेबास नगरपालिकाको प्रशासन अब स्थायी मुकामबाटै 

Trulli
ADVERTISEMENT

पर्वत–पर्वतको फलेबास नगरपालिकाले आफ्नै स्थायी केन्द्रबाट प्रशासकीय सेवा सुरु गरेको छ । लामो समयको रस्साकसीपछि गत साउनमा केन्द्र विवाद टुंग्याएको नगरपालिकाले स्थायी केन्द्र झकलकमा अस्थायी संरचना निर्माण गरेर सेवा सुरु गरेको जानकारी दिएको छ । 

 

नगरपालिकाले सभाहलसहित १० वटा कोठा निर्माण गरी सेवा सुरु गरेको नगरप्रमुख पदमपाणी शर्माले बताए । नगरपालिकाको पक्की प्रशासकीय भवन निर्माणको चरणमा छ । नगरपालिका स्थापनापछि लामो समय भाडाको घरमा र त्यसपछि फलेबास सिँचाइ आयोजनाको कार्यालयबाट सेवा सञ्चालन भइरहेको थियो । 

 

कार्यपालिकाको बहुमतले २ वर्षअघि अस्थायी रूपमा फलेबास वडा नम्बर ५ खानीगाउँमा रहेको केन्द्र सोही वडाको झकलकस्थित सार्ने निर्णय भएको थियो ।

 

नगरसभाको दुई तिहाइ बहुमतले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै नगर उपप्रमुख मञ्जु अधिकारी न्यायालय पुगेकी
थिइन् । अधिकारीले आफ्नो घरनजिकै केन्द्र राख्ने गरी परमादेशको माग गर्दै गत २२ चैतमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन् । 

 

त्यसको २ दिनपछि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रशासकीय भवन तत्कालका लागि निर्माण कार्य अगाडि नबढाउन आदेश दिएको थियो । त्यसको विरुद्धमा गत ९ वैशाखमा उक्त रिट खारेज गरिपाऊँ भन्दै नगरपालिकाको कार्यालयले सर्वोच्चमै निवेदन दिएको थियो । 

 

उक्त निवेदनउपर सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि चैत २५ मा न्यायाधीश भण्डारीले गरेको आदेश खारेज गरी कार्यपालिकालाई नियमानुसार अघि बढ्न परमादेश दिएपछि नगरपालिकाले स्थायी केन्द्रमा संरचना निर्माणको प्रक्रिया अघि बढाएको हो । नगरपालिका ६० रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गामा सरेको छ । 

 

भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको प्रशासनिक भवन निर्माण तीव्र गतिमा अगाडि बढेको छ । तीन तलाको प्रशासकीय भवन ४२ कोठे हुनेछ । नगर प्रमुख शर्माले जनताको अपेक्षा र भावनालाई बुझेर स्थायी केन्द्रको टुंगो लगाएको दाबी गरे ।