close

पकुवाको पानी सर्दु झर्‍यो, धरानबासी र सम्पाङ खुसी

पकुवाको पानी सर्दु झर्‍यो, धरानबासी र सम्पाङ खुसी

Trulli
ADVERTISEMENT

काठमाडौँ । मानिसले चाहे के नहुने रहेछ ! मेयर निर्वाचित भएको २ महिना पनि नबित्दै धरान उप महानगरपालिकाका मेयर हर्क सम्पाङले यही साबित गरेका छन् ।

यो भनाइ पालिका खबरको सम्पादकीय टोलीको होइन । धरानका मेयरको पछिल्लो कार्यको बारेमा सामाजिक सञ्जालमा व्यक्त गरिएका भावहरू हुन् ।

धरान उपमहानगरपालिको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएसँगै सम्पाङको चुनावी एजेन्डा धरानबासीलाई पानीको समस्याबाट मुक्त गराउने पनि थियो । त्यसका लागि आफ्नै र धराने जनताको श्रमदानमा मेयर सम्पाङ कै पहलमा पकुवाको पानी सर्दु छेउको बस्तीमा आइ पुगेको छ ।

पाइप बोकेर उकालो चढ्दा होस् वा ढुङ्गा बालुवा बोक्दा सामाजिक सञ्जालमा सम्पाङको प्रशंसा र विरोध गर्नेहरू प्रशस्त देखिए । तर, मेयर भएको फुर्तीलाई बिर्सिएर उनी आफ्नो काममा अविचलित लागी रहे । जसको फलस्वरूप धरानमा केही मात्रामा भएपनि पानी भित्रिएको छ । पानी भित्रिने क्रमको सुरुवात भएको छ ।

'म एउटा माध्यम मात्रै हुँ ! गर्ने सबै धराने जनता हुन् ! सबै सबै लाई सबै सबैलाई अति धेरै सम्मानका साथ धन्यवाद ! आज पकुवाको पानी सर्दु छेउको बस्तीमा आइपुग्यो ! यो देख्दा आँखा रसाएको छ मेरो ! आखिर म जनताको सेवक न परेँ ! यति सेवा गर्न पाउँदा म अत्यन्तै खुसी छु ! विरोधीहरूका लागि यो सानो काम होला तर मेरो लागि यो कामको अर्थ अपरम्पार छ !' मेयर सम्पाङले सामाजिक सञ्जालमा यसरी भाव पोखेका छन् ।

पहाड र तराईलाई जोड्ने माध्यमका रुपमा परिचित धरान भिरालो जमिनमा उभिएको छ । जसले गर्दा यहाँका जनता शुद्ध र स्वच्छ पानीबाट वञ्चित झैँ छन् । एक हिसाबमा भन्ने हो भने धरानको राजनीतिमा पानी सधैँ अग्रणी नारा बन्ने गर्छ । तर, धरानका जनताले चुनेका जनप्रतिनिधिहरूले यो नारालाई नारा मै सीमित पारे ।

सामाजिक सञ्जालमा सम्पाङले लेखेको भित्तामा अधिकांशले यो कामको लागि उनलाई धन्यावाद दिएका छन्, सुखी व्यक्त गरेका छन् ।

'अबको विकासमा जन श्रमदान र जनताको प्रत्यक्ष सहभागिता अनिवार्य सर्त हो । धराने जनताले तपाईँ प्रतिको विश्वास र हुटहुटिले साथ दिएर आज यो काम सफल तुल्याउनुभो । धराने सहयोगी जनता र तपाइलाई बधाई,'  विवश पोखरेलले यसरी मेयर सम्पाङलाई बधाई दिएका छन् ।

'लौ हेर सबै ठाऊॅंका अध्यक्ष तथा प्रमुखहरू! चुनाव सकिएर २ महिना मात्र हुँदैछ, चाहेमा र गरेमा नहुने काम के रहेछ त? धराने जनताहरू र मेयर हर्क सम्पाङ सरबाट सिकौँ र जागौँ! समय अझै बितेको छैन...आफ्नो र परिवारको गर्व हुने काम गरौँ,' तस्बिरमा पकुवाको पानीले सर्दु छेउमा बसेर नुहाउँदै गरेका जनप्रतिनिधिको खुसी देखेर थ्रिडी ग्रुपले लेखेको छ ।

'भाग्यमानी धराने ! वर्षौँदेखि कति जना जनप्रतिनिधिले राज गरे तर जनतालाई पानी खुवाउन सकेनन् । धरानमा हजुर आएको छोटो समयमा नै जनतासँग प्रत्यक्ष जोडिएको खानेपानी समस्या लाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु भएको छ जनताले आगामी दिनमा अवश्य मुल्यांकन गर्ने छन् धरानको विकासमा निरन्तर लागिरहनुस् जनता सधैँ साथ मा रहन्छन्,' सीता पन्थी आचार्यले लेखेकी छन् ।

देशबाट मात्र नभएर विदेशबाट पनि उनको कामको प्रशंसा गरिएको छ ।

'हाम्रो दार्जिलिङले यस्तो नेता कहिले पाउनु? बालासनको पानी आउँछ भनेर दार्जिलिङले वर्षौदेखि कुरिरहेको छ । खोइ न पानी आयो न गतिलो नेता ।। यो पानी देख्दा आँखा रसायो नेताले चाहे के चैँ हुँदैन र बस गर्छु भन्ने संकल्प र विश्वास हो। साह्रै राम्रो लाग्यो।। अझै धेरै प्रगतिको शुभकामना,' भारतको दार्जिलिङका आम्बो अनिल राईले यस्तो लेखेका छन् ।

मेयर सम्पाङको यो अभियानमा साथ दिन धरानबाट मात्र नभएर इटहरी र अन्य पालिकाबाट समेत युवाहरुको आकर्षक उपस्थिति रहेको स्थानीयले बताएका छन् ।

धरान उप महानगरपालिकाका उप प्रमुख अइन्द्र  विक्रम बेघा पनि यो कार्यबाट प्रफुल्लित छन् । 

'२४ दिनको मेहनतपछि सफलता हात लागेको छ । हुनत यो अस्थाइ तरिका हो, अब हामी पानीका अन्य स्रोतहरुको पनि पहिचान गरेर धरानबासीलाई पानीको समस्याबाट मुक्ति दिन्छौँ', उप प्रमुख बेघाले पालिका खबरसँग भने, 'हुनत वर्षामा त्यति धेरै समस्या हुँदैन । हिउँदको लागि अब हामी प्रमुख, उप प्रमुखसहितको टोली बनाएर कसरी पानीको समस्या दिर्घकालीनरुपमा समाधान गर्ने भन्ने काममा जुट्छौँ ।'