close

बन्यो लेन, तर बनेन ऐन

Trulli
ADVERTISEMENT

काठमाडौं ।  ललितपुर महानगरपालिकाले गत वर्षदेखि साइकल लेन प्रयोगमा ल्याएको छ । 

महानगरले कुपण्डोल, जवलाखेल, एकान्तकुना, लगनखेललगायत स्थानमा साइकल लेन निर्माण गरेसँगै साइकल लेन प्रयोगमा ल्याएको थियो । 

लेनका दुवै साइडमा साइकल र मानिस अंकित चिह्न बनाइएको छ ।तर, ऐन नबनेका कारण साइकल लेन व्यवस्थित हुनु भन्दा पनि दुरुपयोग भएको यात्रुहरूको गुनासो छ । 

लेन छेक्नेगरी जथाभावी पार्किङ गरेको श्याम तामाङले बताए । लामो समयदेखि साइकलमा यात्रा गर्दै आएका उनी साइकल लेन बनाएकाले खुसी भए पनि सोचेजसरी प्रयोग गर्न नपाउँदा निराश भएको बताउँछन् । 

‘लेनमा गाडी पार्किङ गरेको हुन्छ । पार्किङ गरेपछि साइकल चलाउन मिल्दैन,’ उनले भने, ‘लेनमै साइकल चलाउँदा पनि मोटरसाइकल र गाडीले ओभरटेक गर्छन् ।’ 

साइकल लेनलाई साइकलभन्दा पनि अरू गाडी र सवारीसाधनले ओभरटेक बढी गरिने रमेश थापाले बताए । लामो समयदेखि साइकलमै यात्रा गर्दै आएका लेनलाई व्यावहारिक रूपमा प्रयोग नभएको उनी बताउँछन् । 

‘साइकललाई गरीबको साधनको रुपमा हेर्ने दृष्टिकोण छ । त्यसैले पनि होला साइकललाई पेलेर जाने,’ उनले भने । 

महानगरले साइकल लेन बनाए पनि आफूहरू मुख्य सडकमा कुद्न बाध्य भएको उनले बताए । 

साइकलका लागि बनाएका लेन जथाभावी अरू सवारीसाधनले प्रयोग गर्दा महानगर हेरेर बस्ने, तर कुनै कारबाही नगरेको गुनासो उनले पोखे । 

उनले भने, ‘लेन बनाएर मात्रै भएन । त्यसलाई व्यवस्थित तरिकाले प्रयोग गर्न पनि महानगरले सोच्नुपर्छ । नत्र लेनमा मात्रै सीमित हुन्छ ।’ 
साइकल लेन निर्माणमा महानगरपालिकाले हालसम्म एक करोड बजेट विनियोजन गरेको छ । 

महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार गत आर्थिक वर्षमा ५० लाख र चालू  आवमा ५० लाख विनियोजन भएको छ ।  तर, गत वर्ष विनियोजित रकम सबै खर्च नभएको उनले पालिका खबरलाई बताए । 

हालसम्म महानगरले करिब २३ किलोमिटर सडकमा साइकल लेन निर्माण गरेको उनका दाबी छ । 

नमुनाको लागि डाइभर्सन जडान

महानगरले सुरुवातमा साइकल लेनका लागि हरियो रंगले पोतेको थियो । तर रंगले साइकल लेन चिनेपनि सुरक्षित रुपमा प्रयोग गर्न नपाएको गुनासो आएसँगै महानगरले डाइभर्सन जडान गरेको महानगरले जनाएको छ । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नमुना परीक्षणको रुपमा लगनखेल सातदोबाटा सडकमा डाइभर्सन जडान गरिएको हो । 

‘साइकल लेन हाम्रो लागि नयाँ अभ्यास थियो । त्यसैले सुरुवातमा रंग मात्रै लगायौँ,’ उनले भने, ‘तर, सडक खुला भएकाले जथाभावी पार्किङ र अतिक्रमणको गुनासो आयो ।’ 

जनताको गुनासो सम्बोधन गर्दै महानगरले लेनमा डाइभर्सन जडान गरेको उनले बताए । ‘नमुनाका लागि तीन सय मिटरमा जडान गरिनेछ । प्रभावकारी भएमा अन्य सडकमा पनि डाइभर्सन जडान गर्ने योजना बनाएको छ,’ उनले भने । 

ऐन नभएकाले लापरबाही
महानगरले ल्याएको साइकल लेनलाई स्थानीय तथा साइकलयात्रीले स्वागत गरेका छन् । लेन ल्याए पनि ऐन नआएकाले प्रभावकारी रुपमा प्रयोग नभएको गुनासो उनीहरूको छ । 

साँघुरा सडकमा दुईतिर लेन राख्दा बाटो थप सानो भएको स्थानीय कृष्ण श्रेष्ठले बताए । 

उनले भने, ‘लेन बनाए पनि साइकल गुडेको भए हुन्थ्यो ।’ तर, साइकलभन्दा पनि पार्किङ बढी छ । लेनले सडकमा जाम बढेको उनले बताए । 

लेनका लागि आवश्यक ऐन नभएकोले लापरबाही बढेको साइकल अभियान्ता समीरमणि दीक्षितले बताए । आफूहरूको पटक पटकको अभ्यासमा साइकल लेन आएको भए पनि ऐन नभएकाले प्रभावकारी नभएको उनी बताउँछन् । 

‘प्रायजसो साइकलबाट यात्रा गर्छु । तर सुरक्षित यात्रा गर्न मुस्किलै हुन्छ,’ उनले भने, ‘महानगरले लेन बनाएको छ । तर, ती लेनमा मनपरि चल्छ ।’ पार्किङ, सामान वा अन्यबाट अतिक्रमण हुँदै आएको उनले बताए ।

महानगरले ऐन बनाएर कारबाही गर्न सके मात्रै लेनको औचित्य पूरा हुने उनी बताउँछन् । साथै, उनी महानगरलाई ट्राफिक प्रहरीसँग समन्वय गरी अघि बढ्न सुल्झाउँछन् ।

साइकल लेनमा गुड्ने अरू सवारीसाधन र लेनमाथिको अव्यवस्थित पार्किङ गर्नेलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि अरूले लेन अतिक्रमण नगर्ने अभियान्ता दीक्षित बताउँछन् । 

ऐनको मस्यौदा बन्यो पारित हुन मात्रै बाँकी प्रवक्ता महर्जन

साइकल लेन ऐनका लागि मस्यौदा तयार भइसकेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । 

उनले भने, ‘मस्यौदा पारित भएपछि ऐन बन्छ । कार्यपालिका बैठक बसेपछि ऐन आउने छ ।’ 
उनले स्थानीय तहले संघीय कानुनलाई टेकेर मात्रै ऐन बनाउनुपर्ने भएको बताए । तर, संघीय सरकारसँग साइकल लेनको ऐन नभएको उनले जनाए । 

उनका अनुसार साइकल लेनको ऐन ल्याउनका लागि राष्ट्रियस्तरका कानुनविद्सँग छलफल तथा परामर्श गरेर मस्यौदा तयार गरिएको छ । ऐन आएसँगै लेनलाई प्रभावकारी रुपमा प्रयोग गर्न सकिने विश्वास प्रवक्ता महर्जनले व्यक्त गरे । 

महर्जनका अनुसार लेनमा आवश्यक कर्मचारी खटाउने योजनासमेत महानगरको छ । तर, हाल नगरप्रहरी कम भएकाले ती क्षेत्रमा कर्मचारी खटाउन नसकेको उनले बताए । 

ऐन आइसकेपछि कर्मचारीको व्यवस्थापन, जरिवानालगायत प्रावधान बनाइने र सोहीअनुरुप साइकल लेन प्रयोग हुने उनले सुनाए ।