close

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

Trulli
प्रतीकात्मक
ADVERTISEMENT

काठमाडाैं । बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडकको ट्रयाक खुलेको १६ वर्षपछि स्तरोन्नति हुने भएको छ । १६ वर्षयता स्तरोन्नित नहुँदा बर्खायामको हरेक तीन महिना सास्ती खेप्दै आएका स्थानीय खुसी भएका छन् । 

मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुन लागेको हो । ट्रयाक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो ।

यो सडकको २०६३ सालमा ट्रयाक थियो । सङ्घीय सरकारले विनियोजन गरेको तीन करोड बजेटबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो । सडक स्तरोन्नतिका लागि जागृति निर्माण सेवाले  एक करोड ६३ लाखमा जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङको सवइञ्जिनीयर विजय शर्माले जानकारी दिए । 

निर्माण कम्पनीले सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेरे काम थालेको उनको भनाइ छ । अहिलेदेखि नै काम सुरु भएको भन्दै इञ्जिनियर शर्माले माघ महिनासम्म स्तरोन्नतिको कार्य सम्पन्न हुने बताए । 

‘सडक स्तरोन्नतिका लागि सम्झौता भएर काम सुरु भएको छ, निर्माण कम्पनीले तीव्ररुपमा काम गरेको छ, माघ महिनासम्म सक्नेगरी सम्झौता भएको छ,’ इञ्जिनियर शर्माले भने । ‘ग्रामीण सडक हो, अलिकति अप्ठ्यारो पनि रहेछ, निर्माण कम्पनीले एक करोड ६३ लाखमा सम्झौता गरेको छ, माघमै काम सक्छौँ भनेको छ ।’

उनले यसपटक सडकलाई नौ मिटर चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गरिने बताए । सडकको केही खण्डमा निकै अप्ठ्यारो रहेको भन्दै पुरानो रुट परिवर्तन गरी नयाँ खोल्नुपर्ने भएको उनको भनाइ छ । अहिले तीन किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी रहेको बताए । 

‘सडक निकै साँघुरो छ, यसलाई नौ मिटर चौडा गर्नु पर्नेछ, सडक तलदेखि वाल उठाउने र नाली निर्माण पनि हुने, केही ठाउँ निकै अप्ठ्यारो भएको हुँदा ५०० मिटरजति सडकको रुट नै परिवर्तन गरेर नयाँ खोल्नुपर्ने भएको छ,’ उनले भने । 

यो सडक स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–७ मल्मकी स्थानीय ललिता थापाले बताउनुभयो । सडक निकै साँघुरो र खाल्डाखुल्डी रहेको हुँदा दुर्घटनाको जोखिमसमेत बढेको उनको भनाइ छ । 

‘यो सडक खुलेको धेरै वर्ष भयो अहिलेसम्म साँघुरो छ, स्तरोन्नति हुन सकेको थिएन, अब हुन्छ भन्दा निकै खुसी लागेको छ, सडकभरि खाल्डाखुल्डी छन्, साँघुरोसमेत रहेको हुँदा दुर्घटनाको जोखिम निकै थियो,’ थापाले भने, ‘अब यात्रा गर्न सजिलो हुने भयो, सडक देख्दा गाडीमा यात्रा गर्न पनि डर हुन्थ्यो, अब सरर हुने भयो ।’

थापाले असारदेखि असोजसम्म सडक अवरुद्ध हुने गरेको भन्दै अब बाह्रै महिना सञ्चालन हुने अपेक्षा गरे । बर्खामा गाडी नचल्दा गाउँलेले सामान बोकेर उपभोग गर्नुपरेको बताए । अब यो समस्याको समाधान हुने थापाको भनाइ छ । ‘यो वर्ष पनि असारदेखि बन्द भएको सडक दसैँ अगाडि मात्रै खुलेको हो, यो सडक खुलेदेखि अहिलेसम्म बाह्रै महिना गाडी चलेको छैन,’ थापाले भने ।