close

सडक सञ्जालसँग जोडियो गाराघाट

सडक सञ्जालसँग जोडियो गाराघाट

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम। रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो बाँफिकोट गाउँपालिका । बाँफिकोटको अधिकांश वडामा सडक पुगेको पनि वडा नं १० मा भने बल्ल सडक पुगेको छ । 

‘घर आँगनबाटै गाडी चढ्ने सपना पूरा हुने भएको छ’, स्थानीय ७७ वर्षीय विर्खे कामीले भने। भौगोलिक विकटताका कारण लामो समयसम्म सडक जोडिन नसकेको सानीभेरी गाउँपालिका र बाँफिकोटको भेरी पारिपट्टिको भूगोल पहिलो पटक सडक सञ्जालसित जोडिएको हो । बाँफिकोट–१० को गाराघाट र सानीभेरी गाउँपालिका–३ गरायलादेखि भेरी पारि पट्टीका विभिन्न ठाउँ सडक सञ्जालसित जोडिएका छन् । 

आर्थिक वर्ष २०६७÷६८ देखि सडक खन्ने योजना बनेको हो । आव २०७४÷७५ देखि सडक निर्माण थालिएको हो । चालु आवमा सानीभेरी–३ र बाँफिकोट–१० सडक सञ्जालसित जोड्न सकिएको बाँफिकोट–१० का वडाध्यक्ष हरि चन्दले बताए। गाराघाटबाट सानीभेरीको सिमाना मैदुलोटेसम्म करिब सात किलोमिटर सडकको ट्रयाक खोलिएको छ । 

सडक निर्माणमा हालसम्म रु एक करोड ८५ लाख खर्च भएको वडाध्यक्ष चन्दले बताए। केही ठाउँमा सडकको काम भइरहेको छ । सानीभेरी–३ पेदीबजार हुँदै मैदुलोटेसम्म करिब नौ किलोमिटर सडक निर्माण भएको छ । उक्त सडक निर्माण गर्न रु एक करोड ५० बढी बजेट खर्च लागेको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताउनुभयो तर सडक मर्मत भने हुन नसकेको उनको भनाइ छ । 

भेरीपारि सडक सञ्जालमा जोडिएसँगै बाँफिकोट र सानीभेरीका विभिन्न ठाउँमा पहिलो पटक ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन पुगेका छन् । नियमित सवारी साधन सञ्चालनका लागि केही ठाउँमा मर्मतको काम गर्नुपर्ने र त्यसका लागि बजेटको समेत व्यवस्था भइसकेको बाँफिकोट–१० का वडाध्यक्ष चन्दले बताए। 

नजिकै भएर पनि विकट ठाउँका रुपमा रहेका बस्ती सडक सञ्जालमा जोडिएको र अब त्यसको सुधार तथा थप बस्तीमा विस्तारका लागि प्रयास भइरहेको चन्दको भनाइ छ । उनका अनुसार एकता आधारभूत विद्यालय सेजेदेखि बालहित आधारभूत विद्यालयसम्मको चार किलोमिटर सडक निर्माणका लागि रु ५० लाख बजेट आएको छ । 

त्यस्तै मयारीदेखि भानुभक्त माविसम्मको डेढ किलोमिटर सडक निर्माणका लागि रु ३० लाख बजेट आएको छ । मुख्यरुपमा वडा सडक सञ्जालमा जोडिएपछि अब बस्ती बस्ती जोड्ने सडक प्राथमिकतामा रहेको वडाध्यक्ष चन्दले बताए।