close

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

उपत्यकाका विस्तार हुँदै गरेका सडकमा पुल निर्माण गरिने

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो । 

चावहिल–साँखु सडकमा तीन पुलको निर्माण अघि बढिसकेको छ भने जोरपाटी–सुन्दरीजल र कर्मनाशा खोला–गोदावरी सडकमा पुल निर्माणमा जाने गरी योजना अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । साँखुमा तीन पुल निर्माण गर्न ठेक्का लागिसकेर अहिले सर्बे डिजाइनका क्रममा रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। साढे दुई वर्षमा सम्पन्न गर्ने गरी गत वर्ष ठेक्का भएको उनले बताए।  

जोरपाटी–सुन्दरीजल सडकमा चार ठाउँमा पुल निर्माणका लागि योजना बनाएर अर्थ मन्त्रालयसँग रकम माग गरिएको आयोजनाले जनाएको छ । गोकर्ण मन्दिर नजिकै, गोकर्ण बजार सकिनासाथ, नाम्गेन बसपार्क बजार र एउटा नयाँपाटीमा पुल निर्माण गर्ने योजना रहेको छ । माटो परीक्षण गरेर यतियति लम्बाइका पुलका लागि यति रकम आवश्यक छ भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको सूचना अधिकारी जोशीले बताए। उनले भने, ‘विभाग हुँदै अर्थ मन्त्रालय पुगेको फाइल त्यही रोकिएको छ ।’

सडक निर्माणको अन्तिम काम भइरहेको हात्तीवनदेखि गोदावरी सडकमा दुई पुल निर्माण आवश्यक देखिएको आयोजनाले जनाएको छ । हात्तीवनमा कर्मनाशा खोलामा र गोदावरी पार्क नजिकै हाल कल्भर्ट रहेको स्थानमा पुल आवश्यक रहेकाले निर्माणको योजना बनाइएको उनले बताए। 

आयोजनाले पहिले सबै ठाउँमा सडक विस्तारको मात्रै काम अघि बढाइएमा अहिले साँघुरा पुल रहेका स्थानमा पुल निर्माण गर्ने योजना अघि बढाएको हो । २० र २२ मिटरमा सडक चौडा गर्ने गरी विस्तार सुरु भए पनि आधाभन्दा बढी सडकमा त्यसअनुसार निर्माण हुन सकेको छैन । पहिलेभन्दा केही चौडा भएको ठाउँमा पनि सडकभन्दा पुल साँघुरो भएकाले नयाँ पुल निर्माण गर्न लागिएको सूचना अधिकारी जोशीले बताए। उनले भने, ‘पहिले सडक मात्रै बनाइएकामा अहिले सडकअनुसारको पुल पनि चाहिएको छ ।’

सडक विस्तारको अन्तिम काम भइरहँदा स्थानीयबाट पनि विभिन्न माग भइरहेको छ । सुन्दरीजलमा स्थानीयले बसपार्क निर्माण गर्न माग गरेको आयोजनाले जनाएको छ । स्थानीयवासीले गरेको माग र स्थानीय तहको समन्वयमा गत वर्ष गोदावरी नगरपालिकामा सडक ढलान गरिएको थियो ।