close

गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका

गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका

Trulli
ADVERTISEMENT

बाग्लुङ ।  एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो । त्यसपछि गाउँ–गाउँमा सडक पुग्न थाले ।

 अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् । पहिलो कार्यकालमा ट्रयाक खोलिएका सडक अहिले स्तरीय बनाउन थालिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई वटा महत्वपूर्ण सडक स्तरोन्नति गर्दै छ । यस वर्ष हर्पे–पाखापानी–ढुवाखोर सडक र बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक स्तरोन्नति गर्दैछ । 

बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक हो भने हर्पे–पाखापानी–ढुवाखोर सडक पालिकाको गौरवका योजना हो । दुवै सडकलाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ट्रयाक खोलिएको थियो ।

हर्पे–पाखापानी–ढुवाखोर सडक गाउँपालिकाले आव २०७६/०७७ मा खुलाएको थियो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा गाउँपालिकाले यस सडकलाई अघिल्लो आवदेखि स्तरोन्नति गर्न थालेको छ । 

हर्पे–पाखापानी–ढुवाखोर सडकलाई यस वर्ष स्तरीकरण गर्न थालिएको हो । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका–५ जोडेको छ । हर्पे–पाखापानी–ढुवाखोर सडक भने देवीस्थान हुँदै पाखापानी पुगेको छ । यी सडक साँघुरा र अप्ठेरो भएको हुँदा एकै पटक स्तरोन्नति गर्न थालेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।

वैकल्पिक सडक स्तरोन्नतिका लागि गाउँपालिकाले रु एक करोड ३० लाख र केन्द्र सरकारले रु एक करोड ३० लाख विनियोजन गरेको गौतमको भनाइ छ । हर्पे–पाखापानी–ढुवाखोर सडकका लागि रु एक करोड विनियोजन भएको छ । दुवै सडक सम्झौता भएर काम सुरु भएको हो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले वैकल्पिक सडकका लागि रु ८५ लाख विनियोजन गरेर काम थालनी गरेको थियो ।

गौतम भन्छन्, 'दुवै सडक गाउँपालिकाको प्राथमिकतामा परेका योजना हुन्, निकै साँघुरा र दुर्घटनाको जोखिम बढेका कारण पहिलो प्राथमिकतामा राखेर अहिले दुई वटा सडकलाई स्तरोन्नति गरिरहेका छौँ ।यी सडकबाट निसीखोलाका नागरिक लाभान्वित हुन्छन् ।अहिले काम सुरु भएको छ । सडक स्तरोन्नति गर्नका केही महिना अगाडि बोलपत्र आह्वान गरेर ठेक्का सम्झौता गरेका थियौँ ।' हर्पे–पाखापानी–ढुवाखोर सडक निर्माणको जिम्मा स्टार पोखरा कन्स्ट्रक्सन र वैकल्पिक सडकको जिम्मा एसी कन्स्ट्रक्सनले पाएको छ ।

यो वर्ष सडकलाई चौडा गर्ने, नाली निर्माणलगायतका काम हुने गाउँपालिकाले जनाएको छ । वैकल्पिक सडक २०७५ मा साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई÷दुई लाख, अर्थमन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख गरी रु ६१ लाखमा सडकको ट्रयाक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका २, ४ र ५ का नागरिकको दैनिकी फेरिदिएको छ । 

स्थानीय तीर्थबहादुर सुनारले साँघुरो सडकमा यात्रा गर्दा निकै जोखिम मोलेर यात्रा गरेको भन्दै स्तरोन्नतिपछि यस क्षेत्रका हजारौँ स्थानीयले सहजरुपमा यात्रा गर्न पाउने बताउँछन् । उनले यी सडकको ग्रेडिङ नमिलेको हुँदा धेरै पटक दुर्घटना भएको बताए ।

'पहिले सडक थिएन । हामीहरु पैदलयात्रा गथ्र्यौं । अहिले गाडीमा मुटु समाएर यात्रा गर्दै आएका छौँ । बाटा निकै सानो छ ।गाउँपालिकाले फराकिलो बनाउने भनेर काम थालेको पाइयो । अब जोखिम मोलेर हिँड्नुपर्ने छैन', उनले भने, 'गाउँमा सडक आएपछि धेरै सजिलो चाहीँ भएको छ । बारीमा फलेका सागसब्जी पनि बजारसम्म लगेर बेच्न पाइएको छ । सामान पनि गाडीमा ल्याउने गरेका छौँ । पहिलेको तुलनामा धेरै सुविधा भएको छ ।'

वैकल्पिक सडक मध्यपहाडी लोकमार्गभन्दा दुई किलोमिटर छोटो पर्ने छ । गाउँमा सडक आएपछि आफूहरुको दैनिकी नै फेरिएको अर्का स्थानीय प्रेमबहादुर बुढामगरले बताए । उनले गाउँमा यसरी सडक आउँला भन्ने कल्पना नगरेको भन्दै अहिले घरै अगाडि दैनिक गाडी गुड्ने गरेको बताउँछन् ।