close

कोहलपुरमा तयार हुँदै गौरवका योजना

कोहलपुरमा तयार हुँदै गौरवका योजना

Trulli
ADVERTISEMENT

बाँके । कोहलपुर नगरपालिकाले सुरु गरेको पूर्वाधार विकासअन्तर्गत गौरवका योजना तयार भइरहेका छन् । नगरपालिकाले ठूला आयोजनालाई गौरवका योजनामा राखेर काम गर्दै आएको छ ।

 सोअन्तर्गत अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क र धरहराको झल्को दिने गरी बनाइएको दश तले भ्यू टावरको काम सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । 

उहाँका अनुसार कोहलपुरमा अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क निर्माण भई सञ्चालनको तयारीमा रहेको छ । बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्सलगायत सबै संरचना निर्माण भइसकेका छन् । 

अत्याधुनिक बसपार्कमा व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था गरिएको छ । बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारी साधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालनमा ल्याइने उनले बताए ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण नगर विकास कोषले लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुनाका साथै कोहलपुरको विकासमा समेत टेवा पुग्ने नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि २०७९ समेत स्वीकृत भएको छ । उक्त बसपार्कबाट देशको पूर्व–पश्चिम र उत्तर– दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधन चल्नेछन् । 

कोहलपुरमा काठमाडौँको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावर  निर्माण भएको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माण गरिएको लिफ्टसहितको सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण कार्य पूरा भएको निर्माण कम्पनी एसोसिएट जय भवानी निर्माण कम्पनीका सञ्चालक अर्जुन पनेरुले बताए। 

यसैगरीे ठूला योजनाका रुपमा सुरु भएका नगर अस्पताल, कभर्ड हल, बाल अस्पताल पनि धमाधम निर्माण भइरहेको नगरप्रमुख आचार्यले जानकारी दिए ।