close

आफैँले थिचेर जेब्रा क्रसिङ पार, बबरमहलमा नेपालकै पहिलाे प्रयाेग

आफैँले थिचेर जेब्रा क्रसिङ पार, बबरमहलमा नेपालकै पहिलाे प्रयाेग

Trulli
ADVERTISEMENT

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बबरमहलमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरेको छ । पैदल यात्रुकाे सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाले साे प्रणाली जडान गरेकाे हाे ।

याे जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो । यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो । यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि सार्वजनिक स्थलमा नमूना परीक्षणका लागि राख्ने योजना बनेको हो ।

बबरमहललाई दुर्घटनाबाट बचाउने प्रणाली चाहिएको र साेही अनुसार जडान गरिएकाे महानगरपालिकाले जनाएकाे छ। साे प्रणाली शुभारम्भ गर्दै वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, ‘यसबाट पैदल यात्रा सुरक्षामा नयाँ आयाम थपिएको छ ।’

महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार सडकको चौडाइ धेरै भएकोले बबरमहलमा चार वटा पोल राखिएका छन् ।

‘पैदलयात्रीले स्वीच थिचेपछिको ५ सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एक पटक थिचेपछि ३० सेकेण्ड बत्ती बल्छ । यसलाई ४० सेकेण्ड बनाउने हो कि भन्ने छलफल भइरहेको छ,’ खरेलले भने, ‘पहिलो ३० सेकेण्ड बत्ती बलेको अवधि सकिएपछिको  २ मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन् । अर्थात्, २ मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ ।’ 

यसबाट प्राप्त नतिजाका आधारका महानगरपालिकाका ३६ वटा विद्यालय क्षेत्रमा प्रणाली विकास गर्ने योजना रहेकाे उनले जानकारी दिएका छन् । खरेल भन्छन्, ‘यसका २ वटा उद्देश्य छन् । एउटा, बालिबालिकाहरुलाई सडक सुरक्षा प्रदान गर्न सकियोस् । अर्को, भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यवहारिक ज्ञान दिन सकियोस् ।’ प्रणाली जडानका लागि वडाहरुबाट पनि माग आउन थालेको खरेलको भनाइ छ ।  

बबरमहलमा राखिएको प्रणाली जडान गर्न करिब ७ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । २ वटा मात्र पोल राख्ने हो भने ५ लाख ४० हजार रुपैयाँ लागत आउने उनले सुनाए । बबरमहलको प्रणाली सञ्चालन गर्न जिल्ला अदालतबाट विजुलीको आपूर्ति गरिएको छ । 

यस क्षेत्रमा पैदलयात्रीको ठूलो चाप छ । यसकारण पटक पटक पैदल यात्रीहरु दुर्घटनामा पर्ने गरेका छन । प्रणाली जडान भएपछि पैदल यात्रीहरुले सवारी साधन रोकिएको एकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाएका छन् ।