close

चार वर्षमा ६ वटा मात्रै मुद्दा फस्र्योट भए : उपप्रमुख चन्द

चार वर्षमा ६ वटा मात्रै मुद्दा फस्र्योट भए : उपप्रमुख चन्द

Trulli
ADVERTISEMENT

बैतडीको दशरथचन्द नगरपालिका उपप्रमुख मीना चन्द नगरले विकास निर्माणसँगै न्यायिक निरुपणका काम पनि गरिरहेको बताउँछिन् । उपप्रमुख चन्दसँग चार वर्ष काम गर्दाको अनुभव, आइपरेका कठिनाइ आदिबारे केन्द्रित रहेर गरिएको कुराकानी :


उपप्रमुखका रूपमा चार वर्ष काम गर्दाको अनुभव कस्तो रह्यो ? 


जनप्रतिनिधि भएर आएपछि नयाँ ठाउँ, नयाँ काम गर्नुपर्ने थियो । पहिलो वर्ष चुनौतीपूर्ण थियो भने त्यसपछि सहज हुँदै गयो । 

 

निर्वाचनका बेला गरिएका प्रतिबद्धता कति पूरा भए, देखिने काम के गुर्नभयो ?


चुनाव प्रक्रियामा जाँदै गर्दा नागरिकसँग पार्टीगत रूपमा प्रतिबद्धता व्यक्त गरिएकै हो । हामीले यो चार वर्षमा जनपेक्षाअनुसार काम गरेका छौँ । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार क्षेत्रमा धेरै काम गरेका छौँ । 

 

दशरथचन्द नगरपालिकाले विशेषगरी कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गरेको छ ? 


खासगरी भौगोलिक हिसाबले हेर्दा यो बाटो, सडक नभएको पालिका हो । खानेपानी अभाव छ । शिक्षातर्फ हेर्ने हो भने विद्यालय भवन नभएको अवस्था, शिक्षण गर्न पनि अप्ठेरो छ । त्यसैले हामीले सडक सञ्जाल बनायौँ । स्वास्थ्यकर्मी अभाव भएको ठाउँमा करारमा कर्मचारी नियुक्त गरेर सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउने काम ग¥यौँ । भौतिक संरचनाको कमी भएको ठाउँमा भवन बनायौँ । नगर शिक्षक भर्ना ग¥यौँ । दरबन्दी मिलान पनि अहिले भएको छ । 

 

पालिकाले महिला, बालबालिका, पिछडिएका वर्गका लागि के–कस्ता कार्यक्रम लागू गरेको छ ? 


महिलाका लागि छुट्टै योजनाभन्दा पनि तिनलाई सचेतनामूलक कार्यक्रम मात्रै गरेर सशक्त बनाएर आत्मनिर्भर बनाउन हामीले जोड दिएका छौँ । पशुपालन गरेकालाई तालिम वा अनुदान दिएरै भए पनि सक्षम बनाउने काम गरेका छौँ । कृषिमा बिउबिजन वितरण गर्ने बजारीकरण गर्ने, हाते ट्रयाक्टर वितरण गरेर सहयोग गरिरहेका छौँ । वडा नम्बर १० मा रहेको महाकाली नदी छेउमा लिफ्टिङ प्रविधिबाट तरकारी खेती गर्न सहज हुने काम गरेका छौँ । 

 

न्यायिक समितिमा रहेर काम गर्दा के–कस्ता अप्ठेरा आइलागे ? कति विवाद छिनोफानो गर्नुभयो ? 


हाम्रो पालिका सदरमुकाम नजिक छ । विगतका वर्षमा घरेलु हिंसालगायतका मुद्दा प्रहरी प्रशासनमा जाने गर्दथ्यो । तर, अहिले प्रहरीले पनि न्यायिक समितिमा जान सुझाव दिने गरेको छ । वकिलको सल्लाहअनुसार कार्यसम्पादन गरेका छौँ । धेरै मुद्दा पालिकामा आएका छैन । ४ वर्षमा ५ देखि ६ वटा मुद्दा मात्रै आए । 

 

अधिकांश पालिकामा प्रमुख र उपप्रमुखको बीचमा विवाद हुने गरेको देखिन्छ । तपाईंको पालिकाको अवस्था कस्तो छ ? 

 

प्रमुख र उपप्रमुखबीच विवाद हुन्छ । धेरै ठाउँमा उपप्रमुख महिला छन् । संविधानले तीन तहको सरकारमा महिलाको प्रतिनिधित्व गरे पनि मनमुटाव र द्वन्द्व हुने अवस्था हुन्छ । तर, हाम्रोमा त्यस्तो विवाद छैन । हामी दुवै एउटै पार्टीका भएर पनि होला, त्यस्तो विवाद छैन । 

 

अन्त्यमा, साढे चार वर्षको काम फर्केर हेर्दा तपाईं आफू कत्तिको सन्तुष्ट हुनुहुन्छ ?  


अहिलेको वर्षमा पुराना कामलाई प्राथमिकतामा राखेका छौँ । ती काम पूरा गर्ने निर्णयसमेत गरेका छौँ । नयाँ काम सुरु गर्दा अहिलेको बजेटले नभ्याउने भएकाले पनि हामीले पुरानै कार्यक्रमलाई मुख्य जोड दिएका छौँ ।