close

कार्यकाल सकिनै लाग्दा पुनः मतगणनाबाट विजयी वडाध्यक्ष भन्छन् : ‘ढिलो न्याय दिनु नदिनुसरह हो’

कार्यकाल सकिनै लाग्दा पुनः मतगणनाबाट विजयी वडाध्यक्ष भन्छन् : ‘ढिलो न्याय दिनु नदिनुसरह हो’

Trulli
ADVERTISEMENT

जनकपुर– ‘ढिलो न्याय दिनु नदिनुसरह हो’ भन्ने विधिशास्त्रीय मान्यताको एक ताजा भुक्तभोगी हुन् महोत्तरीको मनरा शिशवा नगरपालिका–१० का नवनिर्वाचित वडाध्यक्ष रमेशकुमार राय । स्थानीय तहको निर्वाचन सकिएको ४ वर्षपछि गरिएको पुनः मतगणनामा उनी निकटतम प्रत्याशीभन्दा दुई मत बढी ल्याएर विजयी घोषित भएका हुन् । घोषणा आइतबार भएको हो । प्रदेश २ मा २०७४ असोज २ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । वडाध्यक्षमा राय र कांग्रेसका अरुणकुमार चौधरीबीच दह्रो प्रतिस्पर्धा थियो ।

 

मतदानको ५ दिनपछि चौधरी र रायले बराबरी २६६ मत पाएको गणकले सार्वजनिक गरेका थिए । मत बराबर भएपछि नतिजाका लागि दुवैबीच गोलाप्रथा गरियो । स्वतन्त्र उम्मेदवार रायलाई चित्त बुझिरहेको थिएन । गोलामा चौधरी विजयी घोषित गरिए । पहिलो मतगणनाको अन्तिमतिर जेनेरेटर बन्द गरेर मत ‘दायाँबायाँ’ गरेको देखेका रायलाई गडबडी गरिएको शंका थियो ।

 

उनले उच्च अदालत जनकपुरमा १५ दिनभित्र पुनः मतगणनाको माग गर्दै रिट दायर गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरविरुद्ध उनले हालेको रिटमा सुनुवाइ गर्दै उच्चले पुनः मतगणनाको आदेश दियो तर मुद्दाको पुनरावेदन सर्वोच्चमा पुग्यो ।

 

सर्वोच्चबाट यो मुद्दा स्थानीय तहको अहिलेका पदाधिकारीको कार्यकाल सकिनै लाग्दा टुंगोमा पुगेको हो । रिट परेको करिब १ वर्षपछि २०७५ असार २१ मा उच्च अदालतले पुनः मतगणना गराउन दिएको आदेशविरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका थिए । उनले वडाध्यक्ष भएर काम गर्न थालेको एक वर्ष भइसकेको थियो । उच्च अदालतको आदेश ठीक थियो भन्न सर्वोच्चले २ वर्ष ९ महिना १४ दिन विलम्ब गरिदियो । सर्वोच्चले २०७७ चैत ६ मा उच्च अदालत जनकपुरको आदेशलाई सदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको थियो ।

 

आदेशको ७ महिनापछि आइतबार दोहोर्‍याएर गरिएको मतगणनामा चौधरीभन्दा २ मत अन्तरले राय विजयी घोषित भएका हुन् । रायको २ सय ६८ र चौधरीको २ सय ६६ मत आएको पाइएको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले बताए । वडाध्यक्षका लागि परेको कुल मतमध्ये ९९ वटा दर भएको छ । उक्त वडामा १ हजार ४ सय ३९ मत खसेको थियो । ‘मतगणना अन्तिमतिर पुग्दा जेनेरेटरको तेल सकियो, समस्या आयो भनेर २–३ पटक मतगणना स्थलको बत्ती काटियो,’ नवनिर्वाचित वडाध्यक्ष रायले भने, ‘गणनामा खटिएका अधिकृतले बदर भएर बाहिर राखिएको तीनवटा मतपत्र निकालेर रूख छापमा सदर गरिदिए ।’ त्यतिखेर नै धाँधली भएको भन्दै विरोध गरी गणनाका लागि पटक–पटक आग्रह गरे पनि निर्वाचन अधिकृतले नमानेको उनको भनाइ छ । ‘चुनावमा निर्वाचन अधिकृतले बदमासी गर्छन्, म पनि बदमासीकै सिकार भए,’ उनले भने ।