close

ललितपुर महानगरका विभिन्न स्थानमा जडान हुँदै सिसीक्यामेरा

ललितपुर महानगरका विभिन्न स्थानमा जडान हुँदै सिसीक्यामेरा

Trulli
ADVERTISEMENT

ललितपुर–ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न ठाउँमा सिसीक्यामेरा जडान गर्ने भएको छ । महानगरले महानगरीय प्रहरी परिसर जावलाखेलसँग सहकार्य गरेर सिसीक्यामेरा जडान गर्न लागेको हो ।

 


सिसीक्यामेरा जडानका लागि महानगर र प्रहरी परिसर जावलाखेलबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र परिसरका वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले हस्ताक्षर गरे । महानगरले महानगरभित्रका चार वटा रुटमा २ करोड रुपैयाँ लगानीमा सिसीक्यामेरा जडान गर्ने भएको हो । 

 

 

जडानका लागि प्रहरीले महानगरलाई प्राविधिक सहयोग गर्नेछ । सिसीक्यामेरा हाललाई स्मार्ट सडक बत्ती जडान भएका रुटमा राखिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । यो क्यामेरा स्मार्ट सिटीको महत्त्वपूर्ण अवयव भएको बताउँदै उनले यसले सहरलाई सुरक्षित बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘अन्य रुटमा पनि हामी स्मार्ट सडक बत्ती छिट्टै जडान गर्छौं, त्यसपछि ती रुटमा पनि सिसीक्यामेरा राख्छौँ ।’

 


महानगरले बागमती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ । महानगरका प्रवक्ता राजु महर्जनले वडा स्तरको बजेटबाट पनि सिसीक्यामेरा जडान गरेको बताए । सहरलाई सुरक्षित बनाउन यो सिसीक्यामेरामा महानगरले लगानी गरेको उनको भनाइ छ ।

 

अर्को चरणअन्तर्गत महानगरको रिङरोड बाहिरका बस्ती खोकना, बुङमति, हरिसिद्धि, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडान गर्न टेन्डर प्रकाशित भइसकेको छ । त्यसैगरी महानगरभित्र पर्ने रिङरोडमा पनि स्मार्ट बत्ती जडान गर्न सडक विभाग र विद्युत् प्राधिकरणसँग समझदारी गरिसकेको छ ।