close

पाँच जिल्लाका मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको प्रयोग

पाँच जिल्लाका मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको प्रयोग

Trulli
ADVERTISEMENT

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतपेटिका तथा निर्वाचन सामग्री  जिल्ला सदरमुकाम तथा मतगणनास्थल ल्याउन पाँच जिल्लामा नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ ।

यी स्थानमा सडक यातायात सुविधाको पहुँच नभएकाले मतदान स्थलबाट मतपेटिका ल्याउन हेलिकप्टरकाे प्रयाेग गरिएकाे हाे ।

निर्वाचन आयोगले नेपाली सेनाको युद्ध कार्य निर्देशनालयलाई उपयुक्त हवाई साधनबाट मतपेटिका ढुवानी गर्न जिम्मेवारी दिएपछि सामग्री ल्याउन थालिएको हो । 

आयोगका अनुसार हुम्लाको अदानचुली गाउँपालिका, चङ्खेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका गरी ३४ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम नाम्चे ल्याउन हेलिकप्टर प्रयोग भएको छ ।

यस्तै बझाङको साइपाल गाउँपालिकाको तीनवटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री एकाङ्कुरी डाँडा ल्याउनको लागि हेलिकप्टरको प्रयोग भएको छ। 

गोरखा जिल्लाको चुमनुम्री गाउँपालिकाका २२ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गोरखाबजार ल्याउन हेलिकप्टर प्रयोग गरिएको छ । 

त्यसैगरी हेलिकप्टरको प्रयोग गरेर मनाङको नार्पाभूमि गाउँपालिकाको पाँच मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम चामे ल्याइएको छ ।

यस्तै, सङ्खुवासभाको भोटखोला गाउँपालिकाको चार मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम खाँदबारी ल्याउन हेलिकप्टर प्रयोग भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।