close

अब हुने भयाे नगरकोट सिमाङ्कन

अब हुने भयाे नगरकोट सिमाङ्कन

Trulli
ADVERTISEMENT

भक्तपुर- काभ्रेपलाञ्चोक र भक्तपुरमा अवस्थित नगरकोटको सिमाङ्कन समस्या समाधानका लागि समिति गठन गरिएको छ । पर्यटकीय गन्तव्यको रुपमा रहेको नगरकोटको सिमांकन विषयमा बर्षोदेखि विवाद हुँदै आएको थियो । सोही समस्या समाधानका लागि चार वटा नगरपालिकाका जनप्रतिनिधिको सहभागितामा समिति गठन गरिएको हो । 

गठित समितिले अनुगमन निरीक्षण गरी एक महिनाभित्र सिमाङ्कन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाउने जनाइएको छ । नगरकोट काभे्रपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौंको शङ्खरापुर नगरपालिकाको सङ्गमस्थल पनि हो । 

नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा चारै नगरका वडाअध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौँ, काभे्रपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्रावधिक सम्मिलित समिति गठन गरिएको हो । 

उक्त समितिलाई व्यवस्थापनमा आवश्यक सहयोग स्थानीय नाल्दुम–नगरकोट विकास समितिले गर्ने छ । यसअघि चार नगरबीच सिमाङ्कनबारे पटकपटक बसेको बैठक तथा छलफलपछि मङ्गलबार बनेपाका नगर प्रमुख शान्रित्न शाक्य, मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवा, शङ्खरापुरका नगर प्रमुख रमेश नापित र चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, स्थानीय पर्यटन व्यवयासी तथा सामुदायिक वनका पदाधिकारीलगायत सरोकारवालाबीचको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । 

नगरका प्रमुख वाइवाका अनुसार समितिको प्रतिवेदनका आधारमा सिमाङ्कनको थप प्रक्रिया अघि बढाइनेछ । नगरकोटमा ‘पानी ढलो’का रुपमा काभ्रेपलाञ्चोक र भक्तपुर पर्ने बताइँदै आइएको छ । यसअघि भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमासमेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेको मण्डनदेउपुर नगरबीचको विवाद दीर्घकालीनरुपमा समाधान गरिएको थियो । उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको सीमाङ्कनन एवं यस क्षेत्रको पर्यटन विकासका लागि दुवै नगर संयुक्त भएर कार्य गर्ने सहमतिसमेत भएको थियो ।

यस्तै नगरकोटका ठूला होटलले नै सार्वजनिक जग्गा हडपी भवन नै बनाएर होटल सञ्चालन गरेको विषयमा समेत विवाद हुँदै आएकाले विद्यमान सबै समस्या समाधान गर्ने र त्यसस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले चाँगुनारायणका नगर प्रमुख खत्री र मण्डनदेउपुरका नगर प्रमुख वाईवासहितको टोलीबीच सहमति गरिएको थियो । २०७९ पुसमा भएको सहमतिमा नगरकोटको सीमाङ्कन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यसस्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गर्दै यसका लागि आगामी गुरुयोजना निर्माण गर्न दुवै नगरले रु १०/१० लाख बजेटसमेत विनियोजन गरिएको थियो ।