close

सिद्धार्थनगर नगरपालिकाको बजेट : १अर्ब ३४ करोड ५४ लाख

सिद्धार्थनगर नगरपालिकाको बजेट : १अर्ब ३४ करोड ५४ लाख

Trulli
ADVERTISEMENT

रुपन्देही ।सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को प्रस्तावित आय व्यय विवरण एवम् नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७९-८० मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरी १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार हुने अनुमान गरेको छ ।

आर्थिक वर्ष २०७९-८० को अनुमानित आयव्यय सार्वजनिक गर्दै नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले बजेट तथा कार्यक्रमका मुख्य उद्देश्यहरू मानव विकासलाई केन्द्रमा राखी नगरको दैनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, वातावरण संरक्षण र पूर्वाधार दीगोपना हुने गरी निर्माण गर्ने, विकासका संवाहकको समुचित परिचालनद्वारा आर्थिक विकास, सन्तुलित र समावेशी विकासमा टेवा पुर्याउने रहेको बताइन । नगरपालिकाले बहुवर्षीय तथा क्रमागतमा रहेका योजनाहरुलाई सम्पन्न गर्ने र दिगो एवं वातावरणमैत्री हुने गरी आधारभूत शहरी पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिने बताएको छ ।

यसैगरी आधारभूत स्वास्थ्य सुविधा, शैक्षिक विकास र समावेशी विकासमा टेवा पुर्याउने कार्यक्रम संचालन गरिने बताइन । कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासका क्षेत्रमा जोड दिइ रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने कार्यक्रम सञ्चालन गरिने अधिकारीले बताइन् ।

नगरको सौन्दर्यीकरण, सरसफाइ, वातावरणीय संरक्षण तथा पर्यावरणीय प्रवर्द्धन कार्यमा जोड दिईने उल्लेख गरिएको छ । संस्थागत विकास र सुशासन प्रवर्द्धनमा जोड दिई नागरिकमैत्री सेवा प्रवाहगरिने दाबी छ । नगरपालिकाले ज्येष्ठ नागरिक आश्रय/मिलनकेन्द्र स्थापना गर्न १० लाख र सडक मानवमुक्तनगर बनाउन ३ लाख बजेट विनियोजन गरिएको छ । यस्तै छाडा चौपाया ब्यवस्थापन गर्न कान्जीहाउस निर्माणका लागि १ करोड विनियोजन गरिएको छ ।

बोट निकल गार्डेनको डिपिआर निर्माणको लागि २० लाख र निर्माणाधीन नगर पालिकाको लागि ५ करोड ८० लाख बिनियोजन गरिएको छ । यसैगरी नगर पालिकाले पशुपन्छी विकासतर्फ गाई भैसीको स्वच्छ दूध उत्पादन, चापाकटर वितरण, विभिन्न खोप सेवा, कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरीद तथा ढुवानी, घाँसको बिउँ वितरण, नश्ल सुधारका लागि बोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथा बाख्रापालन तालिम, माछाको भुरा तथा दाना वितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रम र कुकुर बन्ध्याकरणका लागि एकमुष्ट ४६ लाख७५ हजार विनियोजन गरेको छ  ।

नगरपालिकाले आजै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरका मेयर सामूहिक बिवाह कार्यक्रम गरी फजुल खर्च नियन्त्रण गर्ने जनाएको छ ।

नगर प्रमुख इश्तियाक अहमदखाले नगरपालिकाले विकास निर्माण काममा साना टुक्रे योजनालाई निरुत्साहित गरी ठूला र देखिनेखालका योजना सन्चालन गर्ने नीति लिएको जनाए । नगरलाई क्लिन सिटी, ग्रीन सिटि र वातावरणमैत्रीको रुपमा विकास गरिनेछ। सिद्धार्थनगरलाई सधैँ हराभरा तथा वातावरणीय सन्तुलन राख्न नगर क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा वृक्षारोपण कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।