close

काठे पुल  विस्थापित गर्दै हल्दिबारी

काठे पुल  विस्थापित गर्दै हल्दिबारी

Trulli
ADVERTISEMENT

झापा- हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । 

गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार १५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ । केही ठाउँमा झोलुङ्गे पुल पनि निर्माण गरिएका  छन् ।

झापामा तीन दशकअघिसम्म अधिकांश खोला र खोल्सामा काठका पुल मात्र थिए । ती पुल घामपानीले खिइँदै तथा पुराना हुँदै जाँदा जीर्ण भएका थिए । “अब हल्दिबारी काठे पुलमुक्त क्षेत्र भएको छ”, अध्यक्ष लिङ्देनले भने । होचो भूभागको रुपमा चिनिने हल्दिबारी क्षेत्रमा देउनियालगायत खोला छन् । अजिङ्गर, हात्ती, हरिणलगायत जनावरको बासस्थान रहेको जलथल जङ्गल पनि छ । पूर्वपश्चिम राजमार्गले नछोएको यो पालिका पुरानो सदरमुकाम भद्रपुर र हुलाकी राजमार्गसँग भने जोडिएको छ ।

भद्रपुरबाट सुरु हुने हुलाकी राजमार्ग हल्दिबारीको माझबाट हुँदै पश्चिमतर्फ विस्तार भएको छ । पालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग फराकिलो र कालोपत्र भइसकेको छ । सबै ठाउँमा पुल पक्की बनिसकेका छन् । हल्दिबारीको जनसङ्ख्या ४० हजार रहेको छ । पाँचै वडामा सडक कालोपत्र गरिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताए । पालिकाले विगत ६ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छ । मुख्य सडक कालोपत्र गरिएका छन् ।

मुख्य सडक कालोपत्र भएपछि कचनकबलदेखि हल्दिबारी हुँदै विर्तामोडसम्म सार्वजनिक बस यातायात सेवा नियमित सञ्चालन भइरहेको छ ।