close

दरबार क्षेत्रको अव्यवस्थित घरटहरा भत्काउन सुरु, चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका (भिडियोसहित)

दरबार क्षेत्रको अव्यवस्थित घरटहरा भत्काउन सुरु, चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका (भिडियोसहित)

Trulli
ADVERTISEMENT

दरबार क्षेत्रको अव्यवस्थित घरटहरा भत्काउन सुरु

पाल्पाको तानसेन नगरपालिकाले पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ । बुधबार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरा नगरपालिकाद्वारा डोजर लगाएर हटाउने कार्य सुरु भएको छ ।       

सङ्ग्रहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाई विश्व पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घरटहरा हटाउन थालिएको हो ।

चौपायाको आहाराका लागि विकल्प खोज्दै नगरपालिका

गौशालामा व्यवस्थापन गरिएका चौपायालाई आहाराको  समस्या हुन थालेपछि कैलालीको भजनी नगरपालिकाले विकल्प खोज्न थालेको छ।

गर्मी मौसम सुरु भएपछि चरन क्षेत्र उजाड भएपछि त्यसको विकल्पका लागि नगरपालिकाले सामुदायिक वनसँग समन्वय गर्न थालेको हो । नगरपालिकाले सामुदायिक वनका प्रतिनिधि र चौपाया व्यवस्थापन समितिलाई सँगै राखेर छलफल चलाएको छ । छलफलमा सामुदायिक वनको सीमित क्षेत्र केही समयका लागि खुला गर्न नगर प्रमुख केवल चौधरीले आग्रह गरेका छन्। 

कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै तामाकोशी

दोलखाको तामाकोशी गाउँपालिकाले कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप कृषि प्रर्वद्धन गर्न लागेको जनाएको छ। कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको २१ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

गाउँपालिकाको अनुसार पालिकाले न्यूनतम ५ रोपनी क्षेत्रफलमा केरा, अमिलो, मेवा तथा टिमुर उत्पादनको कार्यक्रम सञ्चालन गर्न लागेको हो। 

नगरप्रमुख थापाकी छोरी सार्वजनिक विद्यालयमा भर्ना

कपिल्वस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन्। उनले हंशबाहिनी बोर्डिङ स्कुलमा अध्ययनरत छोरीलाई यस शैक्षिक सत्रदेखि खडेन्द्रपुरमा रहेको समयथान माध्यमिक विद्यालयको कक्षा ८ मा भर्ना गराएका हुन्।

नगरपालिकाले सामुदायिक विद्यालयको स्तर वृद्धि गर्ने उद्देश्यले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिका छोराछोरीलाई यस शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमै अनिवार्य पढाउनुपर्ने निर्णय गरेको थियो। सोही अनुसार नगरप्रमुख थापाले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन्। 

पूर्व वडाध्यक्ष ठाकुर पक्राउ

महोत्तरीको जलेश्वर नगरपालिकाका –१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर लेनदेन मुद्दामा पक्राउ परेका छन् ।  विगत पाँच वर्षदेखि फरार रहँदै आएका उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।    

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका ठाकुर विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएको थियो। लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् उनी विगत पाँच वर्षदेखि फरार थिए। 

बारागढीले कृषि कार्यक्रममा ५० प्रतिशत अनुदान दिँदै

बाराको बारागढी गाउँपालिकाले कृषि कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । पालिकाले ५० प्रतिशत अनुदान आवश्यकता अनुसार वर्षे धानको बिउ, चार्जर स्प्रेयर १९० थान, कृषि सिचाई मोटर ४० थान, कृषि सिचाई पम्पिसेट २७ थान वितरण गर्न लागेको हो।

कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समुह, कृषि सहकारी तथा फार्मले आवश्यक कागजात सहित वैशाख २० गतेसम्म रितपूर्वक आवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ।

लुम्बिनी साँस्कृतिकमा  प्रमुख प्रशासकीय अधिकृतको हाजिर

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामप्रसाद ज्ञवाली हाजिर भएका छन् ।नेपाल सरकारले कर्मचारी हेरफेर गर्ने क्रममा उपसचिव  ज्ञवाली नगरपालिकामा सरुवा भएका हुन् । 

उपसचिव ज्ञवालीले गत बिहिबारबाट नगरपालिकामा आफनो सेवा प्रारम्भ गरेको जनाइएको छ । उने देशका विभिन्न जिल्लाको निमित्त जिल्ला प्रमुख अधिकारी,ग्रह मन्त्रालय,मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, रुपन्देहीका दुई पालिका, लुम्बिनी प्रदेशको घरेलु तथा साना उद्याेग कार्यालय लगायत विभिन्न ठाउँहरुमा आफनो जिम्मेवारी सम्हाली सकेका छन्।