close

विनयी त्रिवेणीमा करार सेवामा कर्मचारी माग, काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु

विनयी त्रिवेणीमा करार सेवामा कर्मचारी माग, काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु

Trulli
ADVERTISEMENT

विनयी त्रिवेणीमा करार सेवामा कर्मचारी माग

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले विनयी त्रिवेणी आधारभूत अस्पतालका लागि मेडिकल अधिकृत पदमा एक जना कर्मचारी माग गरेको हो । 

नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमवीवीएस उत्तीर्ण गरेको व्यक्तिले १००० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्नेछन्। आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने गाउँपालिकाले जनाएको छ। 

काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु
काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबारको छलफलमा सहमति भएपछी आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन सुरु गरिएको हो ।

महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार आज बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । 

किसानको बाली जोगाउन ‘बाँदर उद्यान’

बाग्लुङको जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको सङ्कलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो। 

बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल थालेको छ । जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने योजना सञ्चालन गर्ने सहमति भएको छ। साथै भेलाले बाँदर पार्क बनाउन आवश्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारलाई लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले बताए । 

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो ।

यसअघि भएका  वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै आवश्यताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ । अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

महांकालको आफ्नै भवन उद्घाटन

ललितपुरको महांकाल गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको  छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीले भवन उद्घाटन भएसँगै पालिकाको सबै कार्य सोही भवनबाट गरिने बताए । उनले गाउँपालिका भौगोलिक रुपमा विकट भएपनि योजनागत रुपमा विभिन्न विकास निर्माण कार्य गर्दै आएको बताए । 

रोल्पाका चार स्थानीय तहमा आफ्नै प्रहरी

रोल्पाको रोल्पा नगरपालिका सहित सुनिलस्मृति, रुन्टीगढी र माडी गाउँपालिकाले आफ्नै प्रहरी भर्ना गरेका छन । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । रुन्टीगढी गाउँपालिकाले नौ जना, माडी गाउँपालिकाले सात जना, सुनिलस्मृति गाउँपालिकाले पाँच जना प्रहरि भर्ना गरेको छ । 

पालिकाको सुरक्षा, ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन गरिएको स्थानीय तहले जनाएका छन्। 

लुङ्ग्रीमा अनुदान शिक्षक माग

रोल्पाको लुङ्ग्री गाउँपालिकाले स्थानीय अनुदानमा शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वडा नम्बर १ स्थित जनजागृती आविका लागि १ जना बालविकास गाउँपालिका अनुदान शिक्षक करार सेवामा माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र ५०० रुपैयाँ दस्तुर तिरी आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।