close

फुलकोर्ट बैठकले पास गर्‍यो  गोला प्रथा कार्यविधि 

फुलकोर्ट बैठकले पास गर्‍यो  गोला प्रथा कार्यविधि 

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको फुलकोर्ट बैठकले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको छ । बैठकले निर्देशिका कार्यविधि पारित गरेको छ । १८ जनाले न्यायाधीशहरुले हस्ताक्षर गरेर प्रधानन्यायाधीशलाई निर्णय पठाएका छन् । सर्वोच्चको फुलकोर्टले औपचारिक निर्णय गरी मुख्य रजिष्ट्रारमार्फत कानुन मन्त्रालयमा पठाएर राजपत्रमा प्रकाशित भएपछि यो कार्यविधि लागू हुनेछ ।

 

नियमावली संशोधन गरेर गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था बनाए पनि गोला कसरी तान्ने र इजलास कसरी गठन हुन्छ भन्नेबारे विस्तृत व्यवस्थाका लागि ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ बनाइएको छ । ९ पृष्ठको यो निर्देशिकाले गोला प्रणालीसम्बन्धी विस्तृत व्यवस्था गरेको छ । 

 

निर्देशिकाअनुसार ‘इजलास गठन र पेसी सूची निर्धारण गर्न मुख्य रजिस्ट्रारले उक्त दिनका लागि तोकिएका मुद्दालाई समूहमा विभाजन गरेर उक्त दिन गठन हुन सक्ने इजलास संख्याबारे प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई जानकारी गराउनुपर्ने’ हुन्छ । जसअनुसार प्रत्येक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोला प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेसी सूची निर्धारणको कार्य प्रारम्भ हुनेछ । गोला प्रक्रियाद्वारा बृहत् पूर्ण÷पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेछ । 

 

गोला तान्न समान रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ । निर्देशिकामा जनाइएअनुसार त्यस्ता गोटीलाई त्यसपछि अपारदर्शी थैलीमा राखिनेछ र न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एकवटा गोटी तान्नुपर्नेछ । त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुनेगरी सबैलाई देखाउनुपर्ने हुन्छ, जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिन्छ । गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेगरी प्राथमिकता निर्धारण गरिने निर्देशिकामा छ । त्यसका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था हुन्छ ।