close

ओली समूहको केन्द्रीय कमिटीमा गण्डकीबाट थपिएका १०९ जनामध्ये ४० जनप्रतिनिधि 

ओली समूहको केन्द्रीय कमिटीमा गण्डकीबाट थपिएका १०९ जनामध्ये ४० जनप्रतिनिधि 

Trulli
ADVERTISEMENT

कास्की- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहमा गण्डकी प्रदेशबाट १ सय ९ जना केन्द्रीय सदस्य थप भएका छन् । तीमध्ये अधिकांश जनप्रतिनिधि छन् । प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुखसमेत केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । ३८ भन्दा बढी जनप्रतिनिधि थपिएका छन् । 

 

कास्कीबाट मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ र पोखरा महानगर उपप्रमुख मन्जुदेवी गुरुङलाई केन्द्रमा तानिएको छ । उपनिर्वाचनमा चुनाव जितेकी विद्या भट्टराई र प्रदेशसभाका ८ सांसद पनि केन्द्रीय सदस्य भएका छन् ।

 

स्याङ्जाका मीनप्रसाद गुरुङ र मोहन रेग्मी प्रदेश सांसद हुन् । सुधीर पौडेल आँधीखोला गाउँपालिका अध्यक्ष, खिमबहादुर थापा कालीगण्डकी गाउँपालिका अध्यक्ष, देवी थापा फेदीखोला गाउँपालिका उपाध्यक्ष, गल्याङ नगर उपप्रमुख देवीसरा थापा, पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्री र प्रतिनिधिसभा सांसद नारायण मरासिनी थप भएका छन् । 

 

पर्वतबाट थपिएका विकास लम्साल गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुन् भने पदम गिरी प्रतिनिधिसभा सांसद हुन् । मनोहर विश्वकर्मा पौडेल जिल्ला समन्वय समिति प्रमुख हुन् । बाग्लुङबाट बाग्लुङ नगरप्रमुख जनक पौडेल केन्द्रीय सदस्य बने । म्याग्दीबाट केन्द्रीय सदस्य बनेकी नरदेवी पुन प्रदेशको सामाजिक विकासमन्त्री हुन् ।

 

नवलपुरबाट थपिएका रोशन गाहा थापा र जनकलाल श्रेष्ठ प्रदेशसभा सांसद हुन् । चन्द्रा पुन कावासोती नगरपालिका प्रमुखको रूपमा कार्यरत छन् ।

 

लमजुङबाट क्होंलासोथर गाउँपालिका अध्यक्ष प्रेम घले, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिं अर्याल र उपप्रमुख लक्ष्मीदेवी अधिकारीलाई केन्द्रीय सदस्य बनाइएको छ । अहिले पनि केन्द्रीय सदस्य थप भइरहेकाले यहाँबाट केही स्थानीय तहका प्रमुख तथा उपप्रमुख र सदस्यहरू तानिने सम्भावना छ । 

 

गण्डकी प्रदेशमा सबैभन्दा धेरै कास्कीबाट २७ जना केन्द्रीय सदस्य नयाँ थपिएका हुन् । ओली समूहकै केही नेताहरूले केन्द्रीय सदस्य छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । लामो समय त्याग गरेकाहरूलाई नसमेटिएको उनीहरूको गुनासो छ ।

 

गण्डकी प्रदेश तुलनात्मक रूपमा ओली समूहको पकड भएको क्षेत्र हो । तथापि अहिले माधव र प्रचण्ड एकातिर हुँदा ओली समूहलाई टक्कर दिने संख्या तयार हुनेछ । गण्डकी प्रदेशसभामा समेत ओलीको पकड राम्रो भए पनि विश्वासको मत लिँदा बहुमत पुग्दैन । अन्य पार्टीलाई फकाउनुपर्ने अवस्था छ ।