close

नेकपा विभाजनको असर : जिल्ला र स्थानीय तहमा ओली समूह कमजोर 

नेकपा विभाजनको असर : जिल्ला र स्थानीय तहमा ओली समूह कमजोर 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनले ओखलढुंगामा पनि वडासम्मै कित्ताकाट सुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि खुलेरै पक्ष- विपक्षमा देखिएपछि कित्ताकाट सुरु भएको हो । 

 

दुई स्थानीय तहका कमिटीले पदाधिकारी र सदस्यहरूसहितको हस्ताक्षरमा ओलीको कमदविरुद्ध विज्ञप्ति नै जारी गरेका छन् । सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठ भने ओली समूहको केन्द्रिय सदस्य बनेका छन् । यो तहका प्रमुख-उपप्रमुख दुवै ओली समूहमा खुलेका हुन् ।

 

मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राई र चिशंखुगढीका अध्यक्ष निशान्त शर्मा प्रचण्ड-नेपाल समूहमा खुलेका छन् । अध्यक्ष राईसहित नेकपाको मोलुङ गाउँपालिका कमिटीका पदाधिकारी तथा मोलुङभित्रका १४ जना जिल्ला कमिटी सदस्यले विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । 

 

उनीहरूले प्रतिनिधिसभा विघटन गर्ने काम अलोकतान्त्रिक र गैरसंवैधानिक हो भनेका छन् । एकीकृत नेकपा निर्माणको अभियान साथ दिन सबै नेता-कार्यकर्ताहरूलाई उनीहरूले अपिल गरेका छन् ।

 
त्यस्तै, चम्पादेवी गाउँपालिका कमिटीका पदाधिकारी र १२ जना जिल्ला कमिटी सदस्यहरूले प्रधानमन्त्री ओलिको कदम गलत भएको भन्दै खारेजीका माग गरेका छन् । उनीहरूले नेकपालाई एकीकृत कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्न एकजुट हुन अपिल गरेका छन् । 

 

चम्पादेवी गाउँ पार्टी अध्यक्ष खड्ग कार्कीले भने, ‘हामी एकढिक्का छौँ । फुटपरस्त र स्वार्थीहरूका षडयन्त्रको पर्दाफास गर्दै अघि बढ्छौँ ।’ एकीकरण हुँदा नेकपामा १ सय ३५ जिल्ला कमिटी समायोजन भएको थियो । तीमध्ये १ सय १० जिल्ला कमिटी प्रचण्ड-माधव पक्षमा रहेको दाबी छ । 

 

नेकपाका जिल्ला सचिव मोहन श्रेष्ठ, किशोर अधिकारी, नानीबाबु बुढाथोकी, शकुन्तला राजभण्डारी, अम्बीरबाबु गुरुङ र बालकृष्ण ढुंगेल ओलि समूहको महाधिवेशन आयोजक समिति सदस्य बनेका छन् ।

 

जिल्ला कमिटीमा भने दुई तिहाइ प्रचण्ड-माधव समूहमा छन् । जिल्ला इञ्चार्ज यज्ञराज सुनुवार नेपाल निकट नेता मानिन्छन् । दुई कार्यकाल सुनुवारको नेतृत्व रहेको तत्कालीन एमालेका ६० प्रतिशत कार्यकर्ता नेपाल समूहका थिए ।

 

जिल्ला सचिवालय सदस्य रूपेश शाक्यले एक दर्जन जिल्ला सदस्य मात्रै ओली समूहमा जाने दाबी गरे । उनले भने, ‘एक सय ३५ जिल्ला सदस्यमा एक सय १० प्रचण्ड-नेपालसँग छन्, आधिकारिक को हो भनिरहनु पर्दैन ।’

 

लिखु गाउँपालिका प्रमुख भने खुलेका छैनन् । आठमध्ये चार तह जितेको नेकपाको दुई स्थानीय तहका जनप्रतिनिधि प्रचण्ड-माधव समूहमा लागेका हुन् । एक तहका ओली र एक तहका खुलेका छैनन् । जनप्रतिनिधिबीचको विभाजनले द्वन्द्व निम्त्याउने र विकासका काम पछि पर्ने नागरिकको चिन्ता छ ।