close

कांग्रेस महाधिवेशन मङ्सिर २४ देखि हुने

कांग्रेस महाधिवेशन मङ्सिर २४ देखि हुने

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले वडा तहदेखि प्रदेशसम्मका सम्पूर्ण निर्वाचन सम्पन्न गरेर आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा १४ औँ महाधिवेशन सम्पन्न गर्नेगरी नयाँ मिति तोकेको हो । 

 

कांग्रेसले सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते सम्पन्न गर्ने, गाउँ नगरपालिका अधिवेशन कात्तिक ३० गते सम्पन्न गर्ने, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर ६ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन भएको जिल्लाको अधिवेशन मङ्सिर १० गते सम्पन्न गर्ने जनाएको छ । 

 

यस्तै सोलुखुम्बु, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २७ गते र जिल्ला अधिवेशन मङ्सिर १ गते सम्पन्न गर्नेगरी मिति तोकेको छ । जुम्ला जिल्लाको भने जिल्ला अधिवेशन मङ्सिर १ गते हुनेछ । 

 

वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका काठमाडौँलगायतका ४६ जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर ६ गते र जिल्ला अधिवेशन मङ्सिर १० गते सम्पन्न गर्नेगरी समय तोकिएको निर्वाचन समितिका सदस्य एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

 

कांग्रेसले प्रदेश अधिवेशन भने मङ्सिर १६ र १७ मा गर्ने जनाएको छ । यसअघि मङ्सिर ९ देखि १३ मा हुने भनिएको महाधिवेशन निर्वाचन समितिले केही समयका लागि सारेको हो । कांग्रेसले रौतहट र रसुवा जिल्लाको क्रियाशील सदस्यता विवाद भने हालसम्म टुङ्ग्याउन सकेको छैन ।