close

कांग्रेसले तोक्यो १३ जिल्लाका निर्वाचन अधिकृत

कांग्रेसले तोक्यो १३ जिल्लाका निर्वाचन अधिकृत

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् ।

 

प्रदेश २ का ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो ।

 

बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमनकुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन समितिले जनाएको छ ।

 

यस्तै, सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सञ्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको
छ ।

 

निर्वाचन अधिकृत सोमबार तोकिएको जिल्लामा जाने निर्वाचन समितिले बताएको छ । निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा २७ कात्तिकका लागि मिति तोकेको छ ।

 

२१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन पनि सकिएको छ ।

 

कांग्रेसले पुनः सारेको महाधिवेशनको नयाँ कार्यतालिकाअनुसार १३ जिल्लामा पालिका अधिवेशन ३० कात्तिकमा हुनेछ । ३ मंसिरमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्लामा अधिवेशन हुनेछ । १० मंसिरमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन हुने कांग्रेसले बताएको छ ।

 

हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन २७ कात्तिक र जिल्ला अधिवेशन १ मंसिरमा हुनेछ । कार्यतालिका प्रभावित नभए २४–२६ मंसिरमा कांग्रेसले १४औँ महाधिवेशन गर्नेछ ।