close

नेता कार्यकर्ताबाट १०० रुपैयाँ महाधिवेशन खर्च उठाउँदै एमाले

नेता कार्यकर्ताबाट १०० रुपैयाँ महाधिवेशन खर्च उठाउँदै एमाले

Trulli
ADVERTISEMENT

चितवन– नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट १०० रुपैयाँ  उठाउने निर्णय भएको जानकारी दिए ।

 

 नेकपा (एमाले)को सदस्य सङ्ख्या सात लाख छ । यसबाट ७  करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ । महाधिवेशन प्रतिनिधिबाट २ हजार र केन्द्रीय कमिटी सदस्यबाट ३  हजार उठाइने उनले जानकारी दिए । लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ । पाण्डेका अनुसार उनीहरुबाट के कति उठाउने भन्ने बारेमा टुङ्गो लागिसकेको छैन । अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए । महाधिबेशनमा बिद्युतीय उपकरणबाट मतदान गरिने  छ । मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ ।

 

महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ । सो अवसरमा देशभरबाट ५ लाखको हाराहारी नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ । बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ । सबै विभागबाट खर्चको अनुमानित रकम आइनसकेकाले के कति खर्च हुन्छ भने अनुमान गरिनसकेको पाण्डेले बताए । 

 

यसअघि नवौं महाधिवेशनमा रु ६ करोड र त्यसअघि आठौंमा ३ करोड खर्च भएको उनले जानकारी दिए । योसँगै नेकपा एमालेले बाहिर महाधिवेशनका लागि चन्दा नउठाउने देखिएको छ ।

 

नेकपा एमालेको केन्द्रिय समिति २२५ सदस्यीय छन् । तीमध्ये १५ पदाधिकारी रहेका छन् । पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ । उनीहरु महाधिवेशनबाट निर्वाचित हुने छन् । महाधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने सह–संयोजक पाण्डेले बताए । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो ।