close

कांग्रेस सभापतिको मतगणना जारी, बढ्यो मतान्तर

कांग्रेस सभापतिको मतगणना जारी, बढ्यो मतान्तर

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

 

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान साढे ६ बजेसम्म दुई हजार छ मत गणना हुँदा सभापति देउवाले ९५८, सभापतिका अरु उम्मेदवार क्रमशः डा शेखर कोइरालाले ७२६,  प्रकाशमान सिंहले १७१, विमलेन्द्र निधिले ११७ र कल्याण गुरूङले सात मत प्राप्त गरेको समितिले जनाएको छ ।

 

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।

 

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

 

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मत गणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।