close

गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

Trulli
ADVERTISEMENT

काठमाडौं–पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले गठबन्धनको निरन्तरतामा जोड दिएका हुन् ।

 

उनले एमसिसीलगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘सानासाना समस्याका कारणले पनि गठबन्धन भत्काउने खतरा छ ।’

 

अहिलेसम्मको हासिल भएको उपलब्धिको रक्षा गर्नुपर्नेमा पूर्वप्रधानमन्त्री भट्टराईको जोड छ । उन्नत समाज निर्माणका लागि सुशासन, लोकतन्त्र, समृद्धि हासिल गर्नुपर्ने उनले बताए । कोही पनि निजी स्वार्थमा लम्पसार भएमा अमेरिकादेखि छिमेकी दक्षिणपन्थी शक्तिसमेत हाबी हुने खतरा रहेको उनले औँल्याए । 

 

गत वर्ष पुस ५ गते भएको संसद् विघटन प्रतिगामी कद्म भएकाले त्यसको विरोध गरेको र अझै पनि प्रतिगमन पूर्णरुपमा अन्त्य नभएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप थियो । विगतमा पनि पटक–पटक लोकतन्त्रमाथि प्रहार भएको र त्यसविरुद्ध नेपाली जनता लड्दै आएको उनको भनाइ छ ।  गत वर्ष पुस ५ गते भएको संसद् विघटनविरुद्ध दल, नागरिक समाज र पत्रकारलगायतले आवाज उठाएको उनले बताए । उनले भने, ‘अझै पनि सबै मिलेर खबरदारी गर्न लाग्नुपर्छ ।’

 

केही शक्ति अहिले नै उपलब्धि हासिल भइसकेको भनेर त्यसलाई जोगाउनमा जोड दिइरहेको पूर्वप्रधानमन्त्री भट्टराईले बताए । समाज यथास्थितिमा नबस्ने हुँदा उपलब्धि रक्षा गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा उनले जोड दिए।