close

माओवादी केन्द्रको महाधिवेशन : जलवायु परिवर्तनको मुद्दा प्रमुख प्राथमिकतामा

माओवादी केन्द्रको महाधिवेशन : जलवायु परिवर्तनको मुद्दा प्रमुख प्राथमिकतामा

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका राजनीतिक दलको प्राथमिकतामा जलवायु परिवर्तनका कारण प्रकृति र मानव जीवनमा परेको प्रभावका विषयमा कुनै पनि ठोस एजेण्डा र कार्यक्रम पर्न सकेको छैन ।

 

अमूर्त राजनीतिक भाषण, एक अर्काप्रति आरोप प्रत्यारोप तथा तत्काल पूरा हुन नसक्ने सपना नै प्रमुख विषय बनीरहेका छन् । नेपालको विकास र समृद्धिबारे ल्याइएका भनिएका कार्यक्रम पनि वर्षौंदेखि उस्तैउस्तै रहँदै आएको छ । विश्वव्यापी तापक्रमको वृद्धिका कारण परेको प्रभाव, बेमौसमी वर्षा, हिमरेखामा भइरहेको परिवर्तन र त्यसले तल्लो तटीय क्षेत्रमा पारेको प्रभावबारे सायदै राजनीतिक नेतृत्वले ध्यान दिएको छ ।

 

नेकपा (माओवादी केन्द्र) ले अन्य राजनीतिक दलको प्राथमिकतामा पर्न नसकेको जलवायु परिवर्तन र त्यसले प्रकृति र मानव जीवनमा पारेको असरबारे पहिलोपटक स्पष्ट ढङ्गले आफ्ना एजेण्डा अगाडि सारेको छ । जलवायु परिवर्तनका कारण पुराना पानीका मूलहरू सुक्न थालेको छ । हिमताल विष्फोटनको खतरा बढेको छ । मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लाले पछिल्लो समय भोगेको विपद् र काट्न ठिक्क पारेको धानबाली बेमौसमी वर्षाले हेर्दाहेर्दै उजाड भएको दृश्य धेरै पूरानो भएको छैन ।

 

खासगरी औद्योगिक राष्ट्रले वायुमण्डलमा फालेको कार्बनडाइअक्साइडका कारण तापक्रम अत्याधिक मात्रामा वृद्धि भएको छ । नेपाल, चीन र भारतजस्ता औद्योगिक राष्ट्रको बीचमा रहेका कारणले पनि जलवायु परिवर्तनको विषय आफैँमा महत्वपूर्ण हुन पुगेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण मानव जगत्को अस्तित्व नै सङ्कटमा पर्न थालेको सन्दर्भमा आफ्नो पार्टीले अन्य राजनीतिक विषयजस्तै वातावरणीय विषयलाई पनि प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

 

राष्ट्रिय सम्मेलनमा उनले प्रस्तुत गर्न लाग्नुभएको राजनीतिक प्रतिवेदनमा पहिलोपटक जलवायु परिवर्तनको मुद्दाले प्राथमिकता पाएको छ । पर्यावरणमा परेको नकारात्मक असरका कारण मानव जीवनमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न कडा रूपमा आवाज उठाउनुपर्ने भन्ने ध्येय आफूले राखेको प्रचण्डको भनाइ छ ।

 

पत्रकारहरूसँगको भेटमा माओवादी अध्यक्षले राजनीतिक विषयका अलावा जलवायु परिवर्तनका एजेण्डालाई पनि प्रमुख प्राथमकितामा राख्नु आफूहरूको दायित्व भएको बताए । अध्यक्ष प्रचण्डको भनाइ छ, ‘अहिले जलवायु परिवर्तन र पृथ्वीको तापक्रम जो बढेर गएको छ । मानव जाति र भूगोलको के हुन्छ भन्ने समस्या पैदा भइसकेको छ । यो पूँजीवादी उत्पादन प्रणालीका कारणले भइरहेको छ ।’ उनले वित्तीय एकाधिकार पूँजीवादका कारणले नै यी र यस्तासमस्या उत्पन्न भइरहेको उल्लेख गरेका छन् । जङ्गल विनाश, मरुभूमिकरण, अब हिउँ पग्लिने प्रक्रिया, जलवायु परिवर्तन, नयाँ–नयाँ विचित्र हुन थालेकोमा प्रचण्डले चिन्ता व्यक्त गरेका छन् ।

 

उनले भने, ‘न आउने बेलामा बाढी आएर मान्छे मर्छन् । हामी मनाङमा जाँदा देख्यौँ । सयौँ वर्षदेखि यस्तो बाढी आएको थाहा थिएन । न आउनुपर्ने बेलामा त्यत्रो बाढी आयो । मान्छेका घर बगायो ।’ उनले कार्वन उत्सर्जन, विभिन्न उद्योग, यातायात, तेलबाट जो कार्बन निक्लिन्छ, त्यसले ग्रीनल्याडतिरका सबै ठाउँमा पानीको सतह पग्लेर अब महासागरको सतह बढ्दै गएको र त्यो मानवजीवनका लागि खतराको रूपमा देखिएको उल्लेख गरे ।

 

उनले महासागर वरिपरिका देश डुब्ने खतरा दिनप्रतिदिन बढ्दै गएको तथा हिमाल पग्लेर यो क्षेत्रमा पनि अब ठूलो जलवायु परिवर्तनको सङ्कट आउने खतरा देखिएकाले माओवादीले यो विषयलाई प्राथमिकताका साथ उठाएको जानकारी दिए । अध्यक्ष प्रचण्डले पूँजीपतिलाई यसको धेरै चिन्ता नभएको र छिटोछिटो नाफा कमाउन उद्यत रहेको बताए ।

 

जसरी पनि निर्वाचन जित्ने, सरकारमा पुग्ने मात्रै प्रवृत्ति देखिइरहेको बेला नेकपा (माओवादी केन्द्र)ले जलवायु परिवर्तनका कारण सिर्जित समस्यालाई उठाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा बहस सुरु गरेको छ । केही समय पहिले बेलायतको स्कटल्याण्डमा विश्व जलवायु सम्मेलनको आयोजना गरियो । कार्बन उत्सर्जन कम गर्ने र तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा कममा सीमित गर्ने लक्ष्य राखिए पनि केही देशको विरोधका कारण कोइलाको प्रयोगलाई कम गर्दै जाने विषयमा आमसहमति हुन सकेन ।

 

माओवादी अध्यक्ष प्रचण्डले आफूहरूले अगाडि सार्न लागेको समाजवादी मोडलले मात्रै आर्थिक विकाससँगै जलवायु परिवर्तनको विषयले समेत प्राथमिकता पाउने उल्लेख गरे ।

 

माओवादी जनयुद्धको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । स्थानीय तह, प्रदेश तह, सङ्घीय तहका सरकार क्रियाशील छन् । अध्यक्ष प्रचण्डका अनुसार समुदायस्तरबाटै समाजवादको आधार तयार पारेर प्राकृतिक स्रोत साधनको प्रयोग र संरक्षणको अभियानलाई अगाडि बढाउने विषय राष्ट्रिय सम्मेलनको अर्को महत्वपूर्ण कार्यसूचीका रुपमा छ ।

 

उनले भने, ‘हाम्रो जङ्गल, पानी, भूमि तिमीहरूलाई दिनौँ हाम्रो जडीबुटी तिमीहरूलाई दिन्नौँ, हामी आफैँ उपयोग गर्छौं भन्नेबाट सुरु गर्नुप¥यो ।’ गलत क्रियाकलापलाई रोक्न जनस्तरबाट पहल गरेर जानुपर्नेमा जोड दिँदै उनले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि प्राकृतिक स्रोतसाधन वचत गर्नुपर्छ भन्ने मान्यतालाई माओवादीले स्थापित गराएको छ ।

 

सङ्घीयता र संविधानसभा, संविधानसभाबाट संविधानको विषय उठाएको माओवादीले त्यसलाई पूर्णतामा पुर्‍याएको सन्दर्भमा जलवायु परिवर्तन र त्यसले पारेको असरलाई न्यून गर्ने विषयलाई पनि देशको मूल कार्यसूची बनाउने दृढता व्यक्त गरेको छ ।