close

माओवादी केन्द्रीय समिति : खुल्लाबाट ६ जना मात्रै महिला 

श्रीमान् श्रीमती को को भए केन्द्रीय सदस्य

माओवादी केन्द्रीय समिति : खुल्लाबाट ६ जना मात्रै महिला 

श्रीमान् श्रीमती को को भए केन्द्रीय सदस्य

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा (माओवादी केन्द्र) को आइतबार सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । खुल्लातर्फ १११ जना निर्वाचित हुँदा ६ जना मात्रै महिलाले स्थान पाएका छन् ।

 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गर्नुभएको २३६ सदस्यीय केन्द्रीय समितिमा खुल्लातर्फ पम्फा भुसाल, उर्मिला अर्याल जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी र यशोदा गुरुङ सुवेदी निर्वाचित भएका छन् । 

 

माओवादीले केन्द्रीय समितिमा ३५ प्रतिशत महिलालाई स्थान दिने बताइएको थियो । यद्यपि सबै वर्ग, समुदाय र क्षेत्रको जोड्दा भने तोकिएको प्रतिशत पुग्न जाने माओवादीको दाबी छ । 

 

श्रीमान् श्रीमती को को ?

 

माओवादीले बन्दसत्रबाट निर्वाचित गरेको केन्द्रीय समितिमा एकै घरका श्रीमान् श्रीमतीको पनि राम्रै उपस्थिति देखिएको छ । खुल्लाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा छन् । शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । 

 

गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन् । खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएकी छिन् । वर्षमान खुल्लातर्फबाट केन्द्रीय समिति सदस्य बन्दा उहाँको श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छिन् । कुलप्रसाद केसी र ताराकुमारी घर्ती दुवै जना केन्द्रीय समितिमा अटाएका छन् । केसी खुल्लाबाट केन्द्रीय सदस्य बने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । 

 

कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बनेका छन् । खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । पूर्वमन्त्री शक्ति बस्नेत र उहाँकीश्रीमती सत्या पहाडी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनकी श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छिन् । 


    
देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय समितिमा निर्वाचित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा निर्वाचित भएका छन् । उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएकी छिन् । 

 

दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन् । नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा अटाएका छन् । पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेका हुन् । देवेन्द्र पराजुली  र कल्पना धमला पनि श्रीमान्श्रीमतीकारूपमा केन्द्रीय समितिमा अटाएका छन् । पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा अटाएका हुन् । 

 

थारु समुदायका ११ जना 

 

माओवादीको आज निर्वाचित केन्द्रीय समितिमा थारु समुदायबाट नौ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् । त्यसमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी हुनुहुन्छ । थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी निर्वाचित भएका छन् । त्यस्तै खुल्लाबाट नेपबहादुर चौधरी, इन्द्रजित थारु निर्वाचित हुनुभएको छ । यस आधारमा हेर्दा थारु समुदायबाट ११ जनाले केन्द्रीय समितिमा उपस्थिति पाएको छ । 

 

अध्यक्ष प्रचण्डको एकाघरबाट छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र बुहारी बिना मगर पनि केन्द्रीय समितिमा अटाएका छन् । माओवादीले शनिबार पारित गरेको विधानअनुसार सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गरेको दाबी गरेको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको थियो । 

 

विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिएको छ । केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ । कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टरअनुसार नै केन्द्रीय समिति निर्वाचित भएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइएको छ । मनोनित गर्न बाँकी रहेकामा सो व्यवस्थालाई पूर्णरूपमा लागू गरिने माओवादीको दाबी छ । 

 

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ ।  त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका तीन जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला छ जना निर्वाचित हुनेछन् । 

 

यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गर्ने जनाएको माओवादीले आज घोषणा गरेको केन्द्रीय समितिमा भने १६ जना मात्रै निर्वाचित गरेको छ । माओवादीले अल्पसङ्ख्यककारूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको बताएकामा आज निर्वाचित केन्द्रीय समितिमा हकिकुल्लाह मुसलमान र कौसर साह मात्रै अटाएका छन् । बाँकी पाँच जना भने मनोनयका क्रममा थप गरिनेछ ।  महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकार सम्पन्न गराउने गरी विधानमा व्यवस्था छ ।