close

दाङमा एमाले  नेतृत्व सर्वसम्मत

दाङमा एमाले  नेतृत्व सर्वसम्मत

Trulli
ADVERTISEMENT

दाङ–एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । दाङको घोराहीस्थित सभाहलमा भएको १३औँ जिल्ला अधिवेशनले हुकुम बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । 

 

शुक्रबार राती सम्पन्न जिल्ला अधिवेशनको बन्दसत्रले सर्वसम्मत आगामी ३ वर्षे कार्यकालका लागि जिल्ला कार्यसमिति चयन गरेको एमाले दाङका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज नरुलाल चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुन निर्वाचित भएका छन् ।

 

सचिव बुढाथोकी र उपसचिव भुसालबाहेक अन्य पदमा नयाँ अनुहार आएका छन् । १० वटै पालिकाबाट भूगोलका आधारमा ५६ जना सदस्य पदमा नेतृत्व चयन गरिएको छ ।

 

यस्तै, समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेसी, आदिवासी जनजाति, मुस्लिम, अपांगता, महिला, पिछडिएको वर्ग अल्पसंख्यकबाट ३० जना सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ जना र सदस्यतर्फ नै खुला क्षेत्र महिलामा ११ जना गरी १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरिएको एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले बताए ।

 

कुल १३१ सदस्यीय जिल्ला कार्यसमिति रहने एमाले दाङमा बाँकी १० जना पछि मनोनीत गरिने भएको छ । जिल्लाभरबाट कुल १४ सय ३७ प्रतिनिधि सहभागी अधिवेशनले पदाधिकारी चयन गरेको हो ।

 

यसैबीच नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ गराइएको छ । प्रमुख निर्वाचन अधिृकत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई शनिबार बिहान पद तथा गोपनीयताको सपथ गराए ।