close

एकै पटक तीनै तहको निर्वाचन गर्ने रणनीतिमा सरकार

०७९ मंसिर वा फागुनभित्रै चुनाव गर्न सत्ता गठबन्धन सहमत

एकै पटक तीनै तहको निर्वाचन गर्ने रणनीतिमा सरकार

०७९ मंसिर वा फागुनभित्रै चुनाव गर्न सत्ता गठबन्धन सहमत

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि आउँदो वैशाखमा हुने भनिएको स्थानीय तह निर्वाचन पर धकेलिने भएको छ । 

 

सत्तारुढ दलका शीर्ष नेताको बालुवाटार जमघटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि शनिबार बैठक बोलाएका छन् ।

 

प्रचण्डको प्रस्तावका सम्बन्धमा प्रधानमन्त्रीबाट कुनै प्रतिक्रिया नआए पनि एक वर्षभित्र तीन वटै तहको निर्वाचन गर्न ५ दलीय गठबन्धनका नेता सहमत भएको स्रोतको दाबी छ ।

 

प्रधानमन्त्री देउवाले स्थानीय निकायको चुनावबारे शनिबार डाकेको बैठकमा चुनावी रणनीति सम्बन्धमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक शनिबार बिहान बालुवाटारमा बस्दै छ । सत्तारुढ राजनीतिक समन्वय समितिको बालुवाटारमा शुक्रबार अपराह्न बसेको बैठकमा पनि स्थानीय चुनावबारे छलफल भएको थियो ।

 

संविधानअनुसार आउँदो वैशाखमा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने हो÷होइन भन्नेबारे निर्वाचन आयोग र संविधानविद्सँग परामर्श गरेर चुनावको मिति तय गर्न सत्तारुढ दल सहमत भएका छन् । यसका लागि निर्वाचन आयोग र संविधानविद्सँग परामर्श गरेपछि मात्रै निर्णय हुने भएको छ ।

 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ दलका शीर्ष नेताको बैठकमा स्थानीय निर्वाचनबारे थप स्पष्ट हुन आयोग र संविधानविद्सँग परामर्श गर्ने निर्णय भएको जानकारी दिए ।

 

प्रधानमन्त्री देउवाले चुनावबारे छलफल गर्न सर्वदलीय बैठक डाकेका छन् । तर, यसअघिको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी एमालेले वहिष्कार गरेको थियो । ०७४ तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो ।

 

वैशाख, असार र असोजमा त्यसबेला निर्वाचन भएकाले कुन समयबाट जनप्रतिनिधिको ५ वर्षे कार्यकाल गणना गर्ने भन्नेबारे आयोग र संविधानविद्सँग परामर्श गर्न लागिएको कार्कीले बताए ।

 

एकै चरणमा स्थानीय, प्रदेश र संघको निर्वाचन गर्ने प्रस्ताव पनि शुक्रबारको बैठकमा आएको उनको भनाइ छ । सरकारले सबै पक्षसँग छलफल गरेर मात्रै निर्वाचन मिति तय गर्ने भएको छ ।

 

निर्वाचन आयोगले प्रस्ताव गरेअनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनका लागि स्वाभाविक विकल्प हो । तर, सुरुमा स्थानीय तहको निर्वाचनमा जाँदा गठबन्धन के हुने भन्नेमा प्रचण्ड र नेता नेपालले जिज्ञासा राखेपछि पार्टी सभापति देउवा हच्किएको कांग्रेस स्रोतको दाबी छ । 

 

वैशाखमा संघीय संसद्को र कात्तिक–मंसिरमा स्थानीय तहको चुनाव गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको जोड छ । सुरुमा प्रतिनिधिसभाको चुनावले गठबन्धनलाई सुरक्षित राख्न सक्ने ती दलका नेताहरूको बुझाइ छ । तर, चुनाव सार्न खोजेको आरोप लाग्ने भएकाले प्रधानमन्त्री देउवा यो विकल्पमा अहिलेसम्म तयार नभएको बताइन्छ । 

 

स्थानीय, प्रदेश र संघको चुनाव वैशाख वा मंसिरमा एकैपटक गर्ने तेस्रो विकल्पमा गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । वैशाख–जेठमै तीनै तहको चुनाव एकै पटक गर्न सकिने विकल्पमा प्रधानमन्त्री देउवा लचक छन् । तर, पुनः संसद् विघटनको आरोप लाग्ने भएकाले यसमा उनले पर्याप्त परामर्श खोजेको बताइन्छ । 

 

सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । विभिन्न विकल्पमा शीर्ष तहमा छलफल भए पनि गठबन्धनमा कुनै विषयमा सहमति जुटेको छैन । 

 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणाको संवैधानिक र कानुनी समयसीमा गुज्रिन लागेको भन्दै ताकेता बढाइरहेकै वेला गठबन्धनको शीर्ष तहमा तीन वटै तहको निर्वाचन एकैपटक गर्नेलगायत विकल्पमा छलफल अघि बढेको हो । 

 

तर, स्थानीय तहको निर्वाचन आउँदो मंसिर वा फागुनसम्म धकेल्दा गलत राजनीतिक सन्देश जाने भन्दै प्रधानमन्त्री देउवा उपयुक्त विकल्पको खोजीमा रहेको स्रोतको दाबी छ । आयोगले १४ र २२ वैशाखमा स्थानीय तहको चुनावका लागि मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ ।