close

गठबन्धनका नाममा कसैले पूजामात्रै गर्ने कोही अगाडि बढिरहने हुँदैन : झलनाथ

गठबन्धनका नाममा कसैले पूजामात्रै गर्ने कोही अगाडि बढिरहने हुँदैन : झलनाथ

Trulli
ADVERTISEMENT

काठमाडौं । झलनाथ खनालले गठबन्धनमा साझा संस्कृति हुन जरुरी रहेको बताएका छन् । 

 

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले  बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा लुम्बिनीमा दुई देशबीच भएको ऊर्जासम्बन्धी सम्झौताप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । 

 

'गठबन्धनको संस्कृति र संस्कार हुनुपर्‍यो । मैले जे लिएको छु । म आफैँ देशको सम्पूर्ण हुँ भन्ने ठान्नु हुँदैन । सरकार संयुक्त छ भने नीतिहरू पनि संयुक्त हुनुपर्‍यो । त्यसमा साझा चिज हुनुपर्‍यो । त्यसरी मात्रै गठबन्धन रहन्छ । नत्र गठबन्धनको के काम ? कोही गठबन्धनका घटकहरूमध्ये पूजा मात्रै गर्ने कोही अगाडि जाने मात्रै जाने बनाउन खोजियो भने राम्रो हुँदैन । तसर्थ नेपाली कांग्रेस र नेकपा माओवादीलाई म भन्न चाहन्छु यो के चिज हो गठबन्धनभित्र छलफल होस् । र स्पष्ट बाहिर आओस्,’ उनले भने । 

 

लुम्बिनीमा नेपाल र भारतबीच अरुण–४ को निर्माण कार्य भारतलाई दिने सहमति पत्रमा हस्ताक्षर भएको थियो । 

 

नेपालको ऊर्जाबारे सचेत रहँदै २०४७ सालको संविधानमा १२६ मा ऊर्जासम्बन्धी व्यवस्था राखिएको, र सो व्यवस्था हालको संविधानमा पनि जस्ताको तस्तै राखेको उनले बताए । 

 

‘नेपाल र भारतद्वारा संयुक्त रूपमा जारी गरिएको ऊर्जा विकाससम्बन्धी दीर्घकालीन अवधारणा लागू गर्ने भनिएको छ । त्यो भनेकै के चिज हो । यो गठबन्धनभित्र पनि छलफल भएको छैन । म पनि कहिलेकाहीँ गठबन्धनको बैठकमा जाने गर्छु । तर, मलाई पनि जानकारी छैन । यस्तो महत्त्वपूर्ण चिज खासखुस जस्केलाबाट गर्ने काम होइन । नेपालको जलस्रोतमाथि तलमाथि होला कि भनेर हामीले २०४७ सालमा बनाएको संविधानमा पनि धारा १२६ राखेका थियौँ । यस संविधानमा पनि धारा १२६ पनि जस्ताको तस्तै राखेका छौँ । यो हाम्रो देशको प्राकृतिक स्रोत र साधन उपयोगको कुरा हो यो । यत्रो महत्त्वपूर्ण सवालमा कसरी यस्तो दीर्घकालीन असर गर्ने सहमति सम्झौता भयो । जब कि अन्यत्र कहीँ पनि छलफल भएन । हामीलाई जानकारी पनि छैन । यसप्रति म आपत्ति जनाउन चाहन्छु । गठबन्धनमा पनि छलफल भएको छैन । र गठबन्धनभित्रबाटै गर्दा पनि कुनै दीर्घकालीन महत्त्व र राष्ट्रिय महत्त्वका नीति छन् भने गठबन्धनको सहमतिबिना गर्न पाइँदैन । कुनै पनि मन्त्रीले गर्न पाउँदैन,' उनले भने ।