close

आदेशबिना गोली चलाउनेविरुद्ध कारबाही सुरु गरिएको छैन : प्रहरी प्रवक्ता

आदेशबिना गोली चलाउनेविरुद्ध कारबाही सुरु गरिएको छैन : प्रहरी प्रवक्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । बर्दियामा एक किशोरीको मृत्यु प्रकरणमा अझै पनि प्रहरीले कारबाही सुरु गरेको छैन । मेडिकल रिपोर्टका आधार आएपछि मात्र कारबाही गरिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा एसएसपी विष्णुकुमार केसीले बताए । 

'गोली लागेरै मरेको हो कि होइन, मेडिकल रिपोर्ट आएपछि मात्रा थाहा हुन्छ,' उनले पालिका खबरसँग भने । उनका अनुसार मेडिकल रिपोर्ट आएपछि कुन हतियारबाट चलेको गोलीले मृत्यु भएको हो थाहा हुन्छ । कारबाहीका लागि सरकारले गठन गरेको छानबिन समिति प्रतिबेदनलाई आधिकारिक मान्ने उनको आशय छ । यस घटनाको छानबिनका लागि सरकारले ५ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । 

सोमबार भएको आन्दोलनको क्रममा मधुवन नगरपालिका-२ ओराली बजारमा सोमबार प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको थियो । सोनहाकी स्थानीय १८ वर्षिया नविना चौधरीको मृत्यु भएको हो ।

किशोरीको मृत्यु हुनेगरी चलेको गोली प्रमुख जिल्ला अधिकारीको आदेशबिना चलेको गृहमन्त्री बालकृष्ण खाणले संसदमा जानकारी गराइसकेका छन् । यस विषयमा बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पनि पालिका खबरसँग फोनमार्फत यहाँकै रिपोर्टअनुसार गृहमन्त्रीले संसदमा जानकारी दिनुभएको भन्दै आदेश नदिइएको प्रष्ट पारे । 

प्रशासन ऐन २०२८ को दफा ५ र ६ अनुसार कुनै पनि झडप वा आन्दोलनको सुरक्षामा खटिएका प्रहररीले आफूखुशी गोली चलाउन पाउदैनन् । प्रहरीले गोली चलाउनै परेमा प्रमुख जिल्ला अधिकारीको आदेश लिनुपर्ने व्यवस्था छ ।