close

प्रतिनिधि सभा बैठकः आजदेखि मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभा बैठकः आजदेखि मन्त्रीले जवाफ दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि मन्त्रीहरुले जवाफ दिँदैछन् ।

आइतबार सांसदहरुले बोल्ने क्रम सकिएसँगै आजदेखि सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालयको विषयमा जवाफ दिनेछन् । 

बिहान ११ बजेदेखि शुरु हुने आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

यसअघि जेठ २५ र २६ गते मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची बनाइएको भए पनि सांसदहरुको सक्रिय सहभागीताका कारण यो विषय लम्बिएको हो ।

यसअघि हिजोको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको थियो । 

बैठकमा तोकिएको शीर्षकमा भाग लिने क्रममा नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले न्यायपूर्ण बजेट वितरण हुन नसकेको बताउँदै युटिलिटी करिडोर बनाउँदा खानेपानीको पाइपलाइन, ढल, बिजुलीको तार, सञ्चारजस्ता क्षेत्रमा समन्वय र सहप्रयोगका लागि कानूनी प्रबन्ध गर्न सकेमा लगानी कम हुन जाने जनाए । 

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले गैरसरकारी क्षेत्रमा पनि सुत्केरी सुविधा र बच्चाको स्वास्थ्य हेरचाहका लागि ध्यान दिन आग्रह गर्दै सरकारी अस्पतालमा एउटै शय्यामा धेरै बिरामी राखेर उपचार गराइने स्थिति अन्त्य गर्न आग्रह गरिन् । उनले दलित, गन्धर्व र वादीजस्ता समुदायका लागि विशेष ध्यान दिन पनि आग्रह गरिन् ।