close

पूर्व रक्षामन्त्रीलाई यसरी सम्झाउनु पर्‍यो सेनापतिले सेनाको कार्यशैली...

पूर्व रक्षामन्त्रीलाई यसरी सम्झाउनु पर्‍यो सेनापतिले सेनाको कार्यशैली...

Trulli
प्रधानसेनापति प्रभुराम शर्मा
ADVERTISEMENT

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा एसपीपीबारे छलफलका लागि बोलाइएका प्रधानसेनापति प्रभुराम शर्माले सेनाको चलन बारे पूर्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सम्झाउनु पर्‍यो ।

एसपीपीका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा पठाएको पत्रको चर्चा पत्र सार्वजनिक भएसँगै सुरु भएको छ । सो पत्रको बाँकी विवरण कम्प्युटरमा टाइप गरिएको भए पनि मिति भने हस्तलिखित छ ।  समितिमा पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले त्यही मितिबारे प्रश्न उठाएका थिए ।

सार्वजनिक चर्चामा रहेको पत्रको हस्तलिखित मिति बारे तत्कालीन उपप्रधान तथा रक्षामन्त्री पोखरेलले पत्रमा अन्य विवरण कम्प्युटर टाइप भएको र मिति भने हस्तलिखित भएको भन्दै पत्रको आधिकारिता बारे नै आशंका जताए । उनले 'हातले मिति किन लेखिएको हो, स्पष्ट पार्नुहोला' भन्दै प्रधानसेनापतिसँग जवाफ समेत मागे ।

रक्षामन्त्री रहिसकेका व्यक्तिले नै प्रश्न उठाएपछि प्रधानसेनापति शर्माले जवाफ दिनै पर्थ्यो, दिए पनि ।

'टाइप नगरीकन हातले किन मिति लेखेको भने सोध्नु भयो । हाम्रो आर्मीमा के चलन छ भने हजुर आज चिठी लेखेपछि आजै सबै काम हुँदैन,'  उनले स्पष्ट पार्दै भने, 'मेरो अफिसमा हिजोदेखिका चिठी छन् । त्यसमा मिति खाली हुन्छ । जसले चिठीमा हस्ताक्षर गर्छ उसैले चिठी लेख्ने चलन छ हजुर ।'

प्रधानसेनापति शर्माले उक्त पत्र सेनाले आधिकारिक रुपमा पठाएको र त्यसको सक्कल प्रति साथै बोकेर आएको जानकारी गराएका थिए । बैठकको सुरुमा नै प्रधानसेनापतिले सक्कल प्रतिसमेत बोकेर आएको भनेपछि पनि पोखरेलले भने पत्रको आधिकारिकताबारे प्रश्न गरेका थिए ।