close

निष्पक्ष बन्ने एमालेका जनप्रतिनिधिहरूको संकल्प

निष्पक्ष बन्ने एमालेका जनप्रतिनिधिहरूको संकल्प

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको काठमाडौँमा सम्पन्न दुई दिने भेलाले जारी गरेको काठमाडौँ संकल्प पत्रमा परिवार,  आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने दाबी गरिएको छ ।

 

यस्तो छ, नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाबाट जारी गरिएको काठमाडौँ सङ्कल्प

हामी, स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले) का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू, पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिबद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर सङ्कल्प गर्दछौँ

१. हामी शासक होइन, जनताका सेवक हुनेछौँ ।

२. हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्नेछन्

३. हामीहरू सदाचारमा नमुना बन्नेछौँ ।

४. आफूले कुनै भ्रष्टाचार गर्नेछैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौँ।

५. भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्नेछौँ । ६. समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृति विरुद्धको अभियानमा अग्रपङ्क्तिमा उभिएर सामाजिक-सांस्कृतिक रूपान्तरणको अगुवाइ गर्नेछौँ। समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्नेछौँ ।

७. हामी पारदर्शिता, जनताप्रतिको जबाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गछौँ। तसर्थ आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्नेछौँ ।

८. सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्‍याउनु हाम्रो कर्तव्य हुनेछ। यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झन्झटिलो र पारदर्शी बनाउन लागिरहने छौँ । कुनै गुनासो आएमा सकारात्मक रुपमा लिएर तत्काल सम्बोधन गर्नेछौँ ।

९. बेरुजु समयमै फर्स्यौट गर्नेछौँ र जनताबाट प्राप्त हुने सबै प्रकारका राजश्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गर्नेछौँ ।

१०. पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गम्भीर ध्यान दिनेछौँ । प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक,सांस्कृतिक र पुरातात्त्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पराहरू एवं जनताको सामूहिक सम्पदाका रूपमा रहेका क्षेत्रहरूको संरक्षण र संवर्द्धनमा संवेदनशील बन्नेछौँ।

११. पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनेछौँ, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्नेछौँ, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्नेछौँ र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्नेछौँ ।

१२. पालिकालाई लैङ्गिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछूत अन्त्य गर्न, बालश्रम निर्मूलन गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहकार्य एवं राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्नेछौँ।

१३. विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउने छौँ। योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवर्द्धन गर्नेछौँ।

१४. स्थानीय उत्पादनको संवर्द्धन र प्रवर्द्धन गर्नेछौँ। समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तिलाई प्रोत्साहन गर्नेछौँ। बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्नेछौँ ।

१५. प्राकृतिक विपत्ति, महामारी र जनताको पीडामा अग्रपङ्क्तिमा उभिएर निस्वार्थ सेवा भावले काम गर्नेछौँ ।

१६. धूम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभतेर जस्ता कुरालाई निरुत्साहित गर्नेछौँ । १७. बैठकहरूलाई छरितो, परिणाममुखी र विषय केन्द्रित बनाउने छौँ। बढीभन्दा बढी समय योजना निर्माण, कार्यान्वयन र सेवा प्रवाहमा व्यतीत गर्नेछौँ ।

१८. नियुक्ति, सरुवा बढुवा, सेवा सुविधा प्रवाह लगायतका विषयमा निष्पक्षता र योग्यतालाई आधार बनाउने छौँ। परिवार, आफन्तजन, स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण गर्ने छैनौँ। ९९. मुलुकको प्रचलित कानुनी व्यवस्था बमोजिम जिम्मेवारी वहन गर्दा र जिम्मेवारीबाट बिदा हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्नेछौँ ।यसबारे उठ्ने कुनै पनि प्रश्नको जिम्मेवारीपूर्वक सामना गर्नेछौँ।

२०. सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयोग गर्नेछौँ।

मिति: २-३ असार २०७९