close

ओलीले भने : पत्र लेख्दा तत्कालीन प्रधानसेनापतिले जानकारी गराएनन्

सुशील कोइरालाको पालामा सहभागी हुन आग्रह गर्ने निर्णय भएको दाबी

ओलीले भने : पत्र लेख्दा तत्कालीन प्रधानसेनापतिले जानकारी गराएनन्

सुशील कोइरालाको पालामा सहभागी हुन आग्रह गर्ने निर्णय भएको दाबी

Trulli
ADVERTISEMENT

काठमाडौँ । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवामाथि राष्ट्रहित विपरीत अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्न लागेको आरोप लगाएर राजनीतिक फाइदा लिने दाउमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुँदा सो सम्झौता गर्न पहल गरिएको कुरा बाहिर आएसँगै उनी र उनको दल बचाउमा केन्द्रित हुन थालेका छन् ।

एमालेका अध्यक्ष ओलीले २०७२ सालमा एसपीपीका लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको दाबी गरेर आफ्नो बचाउको थालनी समेत गरेका छन् ।

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले २०७२ साल असोज ६ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र असोज १३ गतेमा सैनिक मुख्यालयमा पठाएको दाबी समेत गरेका छन् ।

‘हामीलाई कतैबाट पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भएँ,  २५ गते शपथ लिएँ । तर कात्तिक १० गते नै त्यस बेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्,’ ओलीको दाबी छ ।

‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैँले लेखेका रहेछन् । जबकि त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो,’ उनले आफ्नो बचाउ गर्दै भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले अर्को दाबी समेत गरे । आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको उनले बताए ।

सुशील कोइरालाको पालामा भूकम्पसम्बन्धी विपद् व्यवस्थापनसम्बन्धी तालिमका लागि सुरु गरेको भए पनि आईपीएसमा राखेपछि सैन्य गठबन्धनमा सहभागी हुनसक्दैनौं भनेर आफूहरूले च्याप्टर क्लोज गरेको उनले बताए ।

अहिले एमसीसी पास गरेपछि गठबन्धन हौसिएर अमेरिकी सेना नेपालमा राख्ने गरी ड्राफ्ट बनाएको ओलीको दाबी छ ।

‘अहिले आएर अमेरिकी सेना नेपालमा राख्ने, साना खालका एयर क्राफ्ट र अरू संरचना राख्ने एउटा अन्तिम ड्राफ्ट आएको छ । यो ड्राफ्ट के हो ? यो षड्यन्त्र कसले गर्‍यो ? यसबारे उहाँहरू चुपचाप हुनुहुन्छ,’ उल्टै ओलीको प्रश्न छ ।