close

प्रधानमन्त्रीद्वारा संसदीय मर्यादाको उपहास : उपस्थित भएनन् अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा

प्रधानमन्त्रीद्वारा संसदीय मर्यादाको उपहास : उपस्थित भएनन् अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । 

समितिको आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको थियो। आसन्न अमेरिका भ्रमणको छलफल कार्यतालिका राखिएको थियो।

यद्यपी देउवा बैठकमा उपस्थित भएनन्। त्यसपछि प्रधानमन्त्रीको अनुपस्थित बारे समितिकी सभापति पवित्रा निरौला खरेलले प्रश्न उठाइन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीलाई बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताएकी छन् ।

‘आउनको समय मिलेन ठीक छ प्रधानमन्त्रीको व्यस्तता हुनसक्छ । कम्तीमा समयमा खबर हुनुपर्छ नि । यो अपमान नै हो भन्छु म । हिजो मात्र पनि उहाँले मलाई खबर गर्नसक्नुहुन्थ्यो’, सभापति निरौलाले भनिन् । 

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा प्रधानमन्त्रीले आफूलाई जानकारी नै नभएको जवाफ पठाएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय व्यवस्था र मर्यादाको धज्जी उडाएको यो नै पहिलो पटक भने होइन । गत साता बजेटका सम्बन्धमा समेत जवाफ दिन नआएर एनआरएनको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री देउवाले विगतमा समेत सदनलाई होच्याउने काम गर्दै आएका छन् । तर, राष्ट्रिय बहसको विषय बनेको एसपीपीका बारेमा समेत उनले प्रस्ट जानकारी दिन चाहेनन् । प्रधानमन्त्रीको सचिवालयले आज कार्यव्यस्तताले जान नसके पनि अर्को दिन देउवा संसदीय समितिमा जवाफ दिन जाने दाबी भने गरेको छ ।

गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका थिए ।

एसपीपीमा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन पनि समितिले निर्देशन दिएको थियो ।