close

संसदीय समितिको निर्देशन बेवास्ता गर्दै सत्ता गठबन्धनबाट प्रधानमन्त्रीको अमेरिका भ्रमण अनुमोदन

सर्वदलीय बैठक बोलाउने, मन्त्रीमण्डल हेरफेर गर्ने सहमति

संसदीय समितिको निर्देशन बेवास्ता गर्दै सत्ता गठबन्धनबाट प्रधानमन्त्रीको अमेरिका भ्रमण अनुमोदन

सर्वदलीय बैठक बोलाउने, मन्त्रीमण्डल हेरफेर गर्ने सहमति

Trulli
फाइल तस्विर
ADVERTISEMENT

काठमाडौँ । सत्ता गठबन्धनको आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई अनुमोदन गर्दै कुनै सम्झौता नगर्ने सहमति जुटाएको छ । सोही बैठकमा मन्त्रीमण्डल पुनर्गठन तथा सर्वदलीय बैठक बोलाउने सहमति समेत भएको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुने तर, प्रधानमन्त्रीले कुनै समझदारी नगर्ने सहमति बनेको हो ।

प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने तर कुनै सम्झौता र समझदारी नगर्ने सहमति भएको  बैठकमा सहभागी एक नेताले पालिका खबरलाई बताए ।

अमेरिकी सैन्य रणनीति एसपीपी सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको छ ।

तर, आजै संसदीय समितिमा अनुपस्थित भएर प्रधानमन्त्री देउवाले त्यो निर्णय नमान्ने संकेत दिएका छन् । प्रधानमन्त्रीले त्यो सुझावलाई पालना नगर्न भ्रमण कार्यक्रमलाई गठबन्धनबाट अनुमोदन समेत गराएका हुन् ।

बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट फिर्ता बोलाएर नयाँ मन्त्री मन्त्री पठाउने पार्टी निर्णय कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो ।

साथै विवादित बनेको एसपीपी बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने निर्णय समेत भएको छ । बैठकमा सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए ।

नेताहरूको सुझावमा प्रधान देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका हुन् ।

नेताहरूका अनुसार एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे छलफल गरेर वास्तविकता बाहिर ल्याइने छ ।

आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच भएको छलफलमा एसपीपीको अलावा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे समेत नेताहरूबिच सामान्य कुराकानी भएको थियो ।

समाजवादीका अध्यक्ष नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीकै नेता झलनाथ खनाल लगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता आइतबार प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए ।