close

रविको राजनीतिक यात्रामा एमाले महासचिवको यस्तो प्रतिक्रिया

मिलन पाण्डे भन्छन्- राजनीति रेस होइन, म्याराथन दौड हो

रविको राजनीतिक यात्रामा एमाले महासचिवको यस्तो प्रतिक्रिया

मिलन पाण्डे भन्छन्- राजनीति रेस होइन, म्याराथन दौड हो

Trulli
ADVERTISEMENT

काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले पत्रकारिता छाडेर राजनीतिमा लागेसँगै विभिन्न टिकाटिप्पणी हुन थालेको छ । विभिन्न पार्टीका नेताहरुले रविको राजनीतिक यात्रामा  आफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् ।

यसै क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने टिप्पणी गरेका छन् । 

रविले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै एमाले महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।'

विवेकशील साझाका संयोजक मिलन पाण्डेले पनि नयाँ पार्टी खोलेकोमा रविलाई शुभकामनासहित सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट रविलाई शुभकामना दिँदै आफूहरुले गरेको गल्ती दोहोर्‍याउने छुट नभएको बताएका छन् ।

'मैलेमात्र देश बनाउन सक्छु भन्ने अहंम् त्यागें- उज्वल थापा', दिवंगत नेता उज्वल थापाको भनाई उद्धृत गर्दै उनले भनेका छन्, 'उज्वल दाइले नेतृत्व हस्तान्तरण गर्दैगर्दा दिएको यो अभिव्यक्ति हाम्रा निम्ति सबैभन्दा महत्त्वपूर्ण प्रशिक्षण रह्यो । देश बन्नुपर्छ, त्यो हामीले नै मात्र वा हाम्रै दलले मात्र बनाउनुपर्छ भन्ने छैन ।'

रविले आफ्नो पार्टीबारे एजेन्डा सुनाउँदा विवेकशील अभियानले २०६९ सालमा उठाएको अधिकांश कुरा पाएकोसमेत उनले बताएका छन् । 'रविजीले आफ्नो पार्टीको बारेमा भन्नुभएका केही एजेन्डा सुन्दा उज्वल दाइ/विवेकशील अभियानले २०६९ सालमा उठाएको अधिकांश कुरा पाएँ,' मिलनले भनेका छन्, 'खुसी लाग्यो, प्रारम्भिक एजेन्डाको हिसाबले तपाई सही दिशामा हुनुहुन्छ ।'

राजनीतिमा ठुलो नामले भन्दा सामान्य मानिसको नेतृत्व क्षमता आफूले महत्वपूर्ण देखेकोसमेत उनले बताएका छन् । यो कुरालाई नबिर्सनसमेत मिलनले सुझाएका छन् । 'राजनीतिमा ठुलो नाम र ठुलो मान्छेलेभन्दा सामान्य मानिसको असामान्य नेतृत्व क्षमता महत्त्वपूर्ण हुँदो रहेछ। यो कुरा नबिर्सिनुहोला,' उनले भनेका छन् ।

राजनीति म्याराथन दौड भएको उल्लेख गर्दै उनले विवेकशील साझाको गल्तीबाट सिक्नसमेत आग्रह गरेका छन् । 'अनि, हतार नगर्नुहोला । राजनीति सय मिटरको रेस होइन, म्याराथन दौड हो । अल्पकालको फाइदाभन्दा, दीर्घकालको परिणामलाई ख्याल गर्नुहोला,' मिलनले भनेका छन्, 'विवेकशीलले विगत १० वर्षमा गरेको राम्रो कामलाई निरन्तरता दिनुहोला । हाम्रा असफलताबाट पाठ सिक्नुहोला । तपाइलाई हामीले गरेका गल्तीहरू दोहोर्‍याउने छुट छैन है ।'

यसअघि रविलाई विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले शुभकामना दिएका थिए । मिश्रले आफूले गरेका गल्तीबाट सिक्न रविलाई आग्रह गर्दै शुभकामना दिएका थिए ।