close

प्रचण्डले भने : ४ कारण तत्काल नेपालमा समाजवाद असम्भव

प्रचण्डले भने : ४ कारण तत्काल नेपालमा समाजवाद असम्भव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । 

उनले विश्वमा घटेका ऐतिहासिक घटना,नवउदारवाद, विज्ञान प्रविधि र पर्यावरण तथा जलवायु परिवर्तनलाई देखाएर तत्काल नेपालमा समाजवाद असम्भव रहेको बताएका हुन् । 

नेकपाका संस्थाका नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘समाजवादको लक्ष्य र चुनौती विषय’मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहालले भने, ‘मुख्यतया विचार धारा र एकतामा चुनौती छ । यसलाई विचार विकासको चुनौती पनि भन्न सकिन्छ । मार्क्सको विचारलाई यान्त्रीकरण गरी ग्रहण गरेर अघि बढेको भए लेलिनले अक्टोबर क्रान्ति गर्नुपर्दैन थियो । लेनिनको कुरालाई अन्धानुकरण गरेको भए चिनियाँ क्रान्ति सम्भव थिएन या अरू क्रान्ति पनि । १९औँ शताब्दी २०औँ शताब्दीमा ठूला–ठूला क्रान्ति पनि देखियो । र, ठूला–ठूला प्रतिगमन पनि देखिए । ती क्रान्ति र प्रतिक्रान्तिका अनुभव वैज्ञानिक संश्लेषणको चुनौती छ । अहिले २१औँ शताब्दीको विश्व परिस्थितिअनुसार ती अनुभवलाई हामीले कसरी संश्लेषण गर्ने भन्ने नै समाजवादको एउटा चुनौती हो ।’

दोस्रो चुनौतीको रुपमा सामन्तवादको अन्त्य गर्न पुँजीवाद अगाडि आएको उनको भनाइ थियो । 

‘अहिले हामी सामन्तवादको अन्त्य गर्न पुँजीवाद अगाडि आयो । र, पुँजीवादको प्रारम्भमा प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवादको रुपमा अघि आयो । केही समयपछि त्यो एकाधिकार पुँजीवाद साम्राज्यवादको रुपमा विकसित भयो । र, हामी सबै एउटा कुरामा सहमत छौँ कि त्यो अहिले एकाधिकार पुँजीवाद दार्शनिक र सैद्धान्तिक रुपमा नवउदारवादको जामा पहिरिएको छ । आर्थिक रुपमा त्यो वित्तीय एकाधिकार पुँजीवाद र भूमण्डलीकरणको रुपमा त्यो व्यक्त भएको छ । यसका विशेषता के हुन् ? र, यो सँगै श्रमजीवी जनताले कसरी लड्नुपर्छ भन्ने कुराको निरूपण गर्ने चुनौती आजको दोस्रो चुनौती हो । 

समाजवाद भाषण गरेजस्तो मात्रै नभएको बताउँदै उनले समाजवाद कठिन कुरा भएको बताए । 

उनले भने, ‘धेरै ठूलो मिहिनेत र साधना, बहस, अन्तरक्रिया र संघर्षको माग गर्छ । अहिले भूमण्डलीकारण, नवउदारवाद र वित्तीय एकाधिकार पुँजीवादका विशेषता त्योसँग समाजवादीले लड्ने कसरी कुराको समग्र व्याख्या एउटा निरूपण वैज्ञानिक ढंगले त्यसमा तथ्यलाई प्रमाणिक र आधिकारिक व्याख्या दिने चुनौती आजका समाजवादीहरूका अगाडि छ ।’ 

विज्ञान प्रविधि धेरै विकसित भइसकेको बताउँदै त्यसलाई हाम्रो वर्गका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको गहन अध्ययन आवश्यक रहेको उनले बताए । 

उनले भने, ‘युग डिजिटलाइजेसनको युगमा रूपान्तरित भएको छ । मानिसले गर्ने धेरै काम रोबर्टले गर्न थालिसक्यो । नानो टेक्नोलोजीले संसाभरि अर्कै परिस्थिति बनाएको छ ।’ 

पुँजीवाद वा नवउदारवाद, वित्तीय एकाधिकार पुँजीवाद भूमण्डलीकरणीय र अहिलेको पुँजीवाद वा नवउदारवाद, वित्तीय एकाधिकार पुँजीवाद भूमण्डलीकरणीयले जसरी विश्वको पर्यावरणमाथि हमला अर्को चुनौती रहेको उनले बताए । 

उनले भने, ‘पृथ्वीको तापक्रम बढिरहेको छ । समुद्रको सतह बढ्ने क्रम जारी छ । हिमाल पग्लिने क्रममा छ । त्यसले मानव जातिकै भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ । समुद्र वरिपरिका सहर डुब्ने खतरामा छन् । हाम्रा हिमाल पग्लिरहेकाले ठूलठूला परिवर्तन आएको कुरा तपाई हामीले भौतिक रुपमा हेरे पनि बुझ्न सक्छौँ ।’

जलवायु परिवर्तनका कारण जैविक विविधताको विनाश हुने र कयौँ जीवहरू विनाश हुँदै जाने र त्यसको असर इकोसिस्टमममा नराम्रो असर पर्ने अवस्था आएको बताउँदै उनले भने, ‘यो कुराप्रति गम्भीर चिन्ता सच्चा कम्युनिस्टले मात्र गर्न सक्छ । र, गर्नुपर्छ । पुँजीपतिहरूले या नाफाको निम्तिमात्रै बाँचेर मर्न चाहनेहरूले चिन्ता लिएर दीर्घकालीन समाधान खोज्न सक्दैनन् ।’