close

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, भट्टराईलाई कारबाही गर्ने विषयमा पनि छलफल

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, भट्टराईलाई कारबाही गर्ने विषयमा पनि छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । 

पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ ।

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै गठबन्धनका अन्य दलमा पनि मन्त्री हेरफेरको दबाब बढेको छ । 

जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

मन्त्री फेर्ने निर्णय पहिलाकै भएको र हिजो कार्यान्वयनको विषय उठाइएको बैठकमा सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले पालिकाखबरलाई जानकारी दिए ।

जसपामा प्रमोद साह, प्रदीप यादव, रामबाबु कुमार यादव, सुरेन्द्र कुमार यादव र अमृता अग्रहरी लगायत मन्त्री हुने दौडमा छन् ।

अध्यक्ष यादव पक्षले गरेको निर्णयबारे भने सो पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष बेखबर छ ।

यस्तै बैठकमा संघीय परिषद् अध्यक्ष डा. भट्टराई, कृषिमन्त्री महिन्द्र राय यादवलगायत केही नेतालाई कारबाही गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

पार्टी अध्यक्ष यादवविरुद्ध हस्ताक्षर अभियान चलाएको सुनिएकाले त्यसो हो भने त्यो पार्टी निर्णय विपरीत हुने र त्यस्तो गतिविधि गर्नेमाथि  कारबाही हुने बैठकमा सहभागी एक नेताले बताए ।