close

गभर्नरले राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

गभर्नरले राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे । 

विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ । 

“विवाद भएर सबैलाई उहाँ नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नुपर्‍यो, होइन भने विवाद आयो भनेर उहाँले राजीनामा दिनुपर्‍यो”, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका सांसद श्रेष्ठले भने । 
यस विषयमा उनले एमाले र सम्बन्धित अधिकारीको ध्यानाककर्षणसमेत गराए । “अधिकारिको विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन गरेको छैन, गर्न सक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर छ ।”

सांसद श्रेष्ठले संवैधानिक परिषदसम्बन्धीको विधेयक फिर्ता लिनसमेत आग्रह गरे । अघिल्लो सरकारले त्यही काम गर्दा विरोध गरिएको जानकारी गराउँदै उनले सरकार हुँदा एउटा र नहुँदा अर्को कुरा गर्न नहुनेमा जोड दिए ।