close

बझाङमा बाम­लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार जोशीको मनोनयन दर्ता

बझाङमा बाम­लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार जोशीको मनोनयन दर्ता

Trulli
ADVERTISEMENT

बझाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बझाङमा बाम­लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । 

जोशी बझाङका अत्यन्तै लोकप्रिय कम्युनिस्ट नेता मानिन्छन् । पूर्व बनमन्त्री समेत भइसकेका जोशी  २०५१ र ०६४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्बाचत भएका थिए ।

आसन्न निर्बाचनका लागि बाम­लोकतान्त्रिक गठबन्धनबीच तालमेल हुँदा बझाङ नेकपा एसको भागमा परेको थियो । जोशी नेकपा एसको स्थायी कमिटी सदस्यसमेत हुन् । 

दुई पटक सांसद तथा एक पटक मन्त्री भएर जोशीले बझाङको विकासमा उल्लेखनीय योगदान दिएका छन् । सरल स्वभाव र स्वच्छ छविको परिचय बनाएका जोशी आम बझाङी जनताबीच लोकप्रिय नेता मानिन्छन् ।

यसैगरी यही गठबन्धनका तर्फबाट प्रदेशसभा अन्तर्गत निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह र ख मा नेकपा माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

बाम­लोकतान्त्रिक गठबन्धनको यो कसिलो तालमेलले आफ्ना उम्मेदवारहरूको जित सुनिश्चित भएको नेपाली कांग्रेस बझाङका प्रभावशाली नेता अर्जुन जङ्ग बहादुर सिंह को दाबी छ । 

यस्तो छ, बझाङको अंक गणित  

प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा  बाम— लोकतान्त्रिक गठबन्धन प्रतिस्पर्धी एमाले भन्दा करिब १० हजार मतले अगाडि छ ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २० हजार, माओवादी केन्द्रले ९ हजार र  नेकपा एकीकृत समाजवादीले करिब ८ हजार गरी गठबन्धनले ३७ हजार मत ल्याएको थियो ।

एमालेका उम्मेदवारले २८ हजार मत ल्याउँदा एमालेसँग अहिले गठबन्धन गरेको राप्रपाले १२८ मत ल्याएको थियो । यो अंक गणितको हिसाबले पनि यहाँ बाम­लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जित हात पार्न सजिलो देखिन्छ ।

गठबन्धनमा एकमत 

केही समय अघिसम्म नेकपा एकीकृत समाजवादीलाई बाहिर राखेर माओवादीसँग मात्रै तालमेल गर्ने विज्ञप्ति निकालेको यहाँको नेपाली कांग्रेसले अन्तिम समयमा भागवण्डा मिलाउन आफ्नो दाबी छोडेर नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेको छ ।

बझाङमा नेपाली कांग्रेसबाट अर्जुन जङ्ग बहादुर सिंह, पृथ्वी बहादुर सिंह र नरेश बहादुर सिंहले दाबी गरेको थिए ।  पृथ्वीबहादुर सिंहले बाम­लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएका छन् भने अर्जुन जङ्ग बहादुर सिंह र  नरेश बहादुर सिंहलगायत कांग्रेसका प्रभावशाली नेताहरूले एक ढिक्का भएर बाम­लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरिसकेका छन् । 

बझाङमा नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता ऐन महर चुवाबी मैदानमा उत्रिएका छन् ।