close

पूर्वमन्त्री जोशीलाई विद्यार्थी नेता महरले देलान् त टक्कर ?

पूर्वमन्त्री जोशीलाई विद्यार्थी नेता महरले देलान् त टक्कर ?

Trulli
ADVERTISEMENT

बझाङ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा बाम­लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भानुभक्त जोशी र नेकपा एमालेका नेता ऐन महरबीच प्रतिस्पर्धा हुने भएको छ । 

भानुभक्त जोशी बझाङ कम्युनिस्टका संस्थापक नेता हुन् । सरल स्वभावका विकासप्रेमी नेता जोशी जिल्लामा निकै लोकप्रिय कम्युनिस्ट नेता मानिन्छन् ।पूर्ववनमन्त्रीसमेत भइसकेका जोशी  २०५१ र ०६४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । 

आसन्न निर्वाचनका लागि बाम­लोकतान्त्रिक गठबन्धनबीच तालमेल हुँदा बझाङ नेकपा–एकीकृत समाजवादी) को भागमा परेको थियो । बाम­लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार जोशी २०६४ सालमा आफ्नै स्वकीय सचिव रहेका महरभन्दा जनमतको हिसाबले सशक्त बलियो देखिएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसंग तालमेल गरेका कारण प्रतिनिधिसभामा जोशीको उम्मेदवारी एमाले नेता महरका लागि भारी पर्ने देखिएको छ ।   

बाम­लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ‘क’मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह र ‘ख’मा नेकपा माओवादी केन्द्रका भीम भण्डारी चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभामा एमालेको तर्फबाट प्रदेश सभा ‘क’ मा अफिलाल ओखेडा र ‘ख’ मा एलबी रावल चुनावी मैदानमा छन् । 
बाम­लोकतान्त्रिक गठबन्धनको कसिलो तालमेल, साझा उम्मेदवार जोशीको व्यक्तिगत छवि तथा वर्तमान चुनावी अंक गणितमा एमालेभन्दा भारी मतान्तरले अगाडि रहेका कारण बझाङमा बाम­लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई एमालेका उम्मेदवारले टक्कर दिन मुस्किल पर्ने  विश्लेषण गरिएको छ । 

यस्तो छ, अहिलेको मतभार   

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतलाई विश्लेषण गर्ने हो भने बाम­लोकतान्त्रिक गठबन्धन एमालेभन्दा आठ हजार ३३२ मतान्तरले अगाडि छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार १६६, माओवादी केन्द्रले ९ हजार १४५ र नेकपा एकीकृत समाजवादीले सात हजार ६३२ मत प्राप्त गरेका थिए । यद्यपि स्थानीय निर्वाचनमा समेत यी दलको चुनावी तालमेलका कारण सबै वडामा सबै पार्टीले उम्मेदवारी दिएका थिएनन् ।

स्थानीय तहको निर्वाचनमा सबै पालिकाका सबै वडामा उम्मेदवारी दिएको एमालेले २८ हजार ६११ मत पाएको थियो । यो चुनावी अंक गणितलाई विश्लेषण गर्ने हो भने बझाङमा बाम­लोकतान्त्रिक गठबन्धनभन्दा एमाले ८ हजार ३३२ मतले पछाडि छ । 

यस्तो छ विगतको नतिजा   

दुई निर्वाचन क्षेत्र हुँदा बझाङ क्षेत्र नम्बर­१ मा २०४८ र ०५६ मा नेपाली कांग्रेस विजयी भएको थियो भने २०५१ र २०६४ मा नेकपा एमालेबाट भानुभक्त जोशीले जीत हात पारेका थिए ।

२०६४ को निर्वाचनमा देशभरबाट नेकपा एमाले ३१ सिटमा खुम्चिँदा बझाङमा भानुभक्त जोशीले एक सिट जितेर सुदूरपश्चिममा एमालेको बिउ जोगाएका थिए । 
यसैगरी, २०७० को निर्वाचनमा पनि बझाङ क्षेत्र नम्बर–१ मा नेकपा एमाले विजयी भएको थियो ।  

उता बझाङ क्षेत्र नम्बर­२ मा २०५१ मा स्वतन्त्र उम्मेदवार नरेश सिंहले जित हात पारेका थिए भने २०४८ र २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा माओवादी र २०७० मा एमालेले जित हात पारेको थियो । 

२०७४ मा निर्वाचन क्षेत्र हेरफेर भएर सम्पूर्ण जिल्ला एउटा मात्रै निर्वाचन क्षेत्र कायम भएपछि माओवादीको समर्थनमा बाम­गठबन्धनका तर्फबाट  भैरवबहादुर सिंह विजयी भएका थिए । 

अहिले बाम­लोकतान्त्रिक गठबन्धनको पल्ला भारी छ । केही समयअघिसम्म प्रतिनिधिसभाको सिट दाबी गर्दै आएको बझाङको नेपाली कांग्रेसले गठबन्धनको भागबण्डा मिलाउन आफ्नो दाबी छोडेर नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीलाई समर्थन गरेको छ । बझाङमा नेपाली कांग्रेसबाट अर्जुनजङ्गबहादुर सिंह, पृथ्वीबहादुर सिंह र नरेशबहादुर सिंहले दाबी गरेका थिए ।  

कांग्रेसका पृथ्वीबहादुर सिंह बाम­लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा ‘क’ को चुनावी मैदानमा छन् । बझाङ कांग्रेसका प्रभावशाली नेता सत्यराज भण्डारी, जनक बुढा, अर्जुनजङ्गबहादुर सिंह र  नरेशबहादुर सिंहलगायत नेता एक ढिक्का भएर बाम­लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिएका छन्  । 

नेकपा एमाले बझाङका संस्थापक नेतासमेत रहेका वर्तमान बाम­लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीले एमालेकै करिब ४० प्रतिशत मत काट्ने नाम उल्लेख नगर्ने सर्तमा नेकपा एमाले बझाङका एक पदाधिकारीको स्वीकारोक्ति छ । 

आमबझाङी जनतामाझ लोकप्रिय व्यक्तिगत छविका कारण प्रतिस्पर्धी एमाले नेता ऐन महरको तुलनामा जोशीले अत्यधिक लोकप्रिय मत पाउने विश्लेषण गरिएको छ । 

बझाङमा नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता ऐन महर चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंलाई आधार मानेर विद्यार्थी राजनीतिबाट उदाएका महर बझाङका लागि प्रतिस्पर्धी जोशीको तुलनामा निकै कमजोर देखिन्छन् । 

राजनीतिक योगदानभन्दा पनि  नेताको आर्शिवादले टिकट पाएको आरोप लाग्दै आएका महरको उम्मेदवारीले नेकपा एमाले बझाङभित्रै चरम असन्तुष्टि छ ।

गत स्थानीय निर्वाचनमा आफ्नै सहोदर भाइलाई आफ्नै वडामा वडाअध्यक्षसमेत जिताउन नसकेका महरका लागि जिल्लामा पुराना र त्यागी नेतालाई पन्छाएर टिकट फुत्काउन सफल भए पनि आसन्न निर्वाचन जित हात पार्नचाहिँ फलामको च्यूरा चपाउनुजस्तै रहेको चर्चा बझाङका राजनीतिक विश्लेषणबीच हुने गरेको छ ।